एजेन्सी – ला लिगाका अध्यक्ष जेभियर टेबासले नर्वेली युवा स्टार हालाण्डलाई बार्सिलोनाले भित्र्याउन सक्नेमा शंका व्यक्त गरेका छन्। एक कार्यक्रममा क्रममा टेबासले बार्सिलोनाले हालाण्डलाई भित्र्याउन सक्नेमा शंका व्यक्त गरेका हुन्।
ला लिगा ट्वान्टीनाइन कार्यक्रममा टेबासले हालाण्ड भित्र्याउन बार्सिलोनाले सक्नेमा शंका मात्र व्यक्त गरेनन्, बार्सिलोनाको आर्थिक अवस्था बारे प्रश्न पनि गरे। बार्सिलोनाको वर्तमान आर्थिक अवस्थाले हालाण्डलाई भित्र्याउन गार्है पर्ने टेबासको भनाई छ।
“मलाई लाग्दैन कि बार्सिलोनाको [आर्थिक] अवस्था र आर्थिक सीमितताका कारण हालाण्डलाई अनुबन्ध गर्न सम्भव छ।”,टेबासले भने। बार्सिलोनाको आर्थिक अवस्था हालाण्ड भित्र्याउने विषयमा स्पष्ट रुपमा बाधक बन्ने टेबासले बताए।
टेबासले एजेन्ट मिनो राइओला हालाण्डलाई सस्तोमा बिक्री गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे। राइओलाले हालाण्डलाई धेरै महँगोमा बिक्री गर्ने योजना बनाएको टेबासको भनाई छ।
उनले भने,”त्यहाँ धेरै परिस्थितिहरू छन्। यो बार्सिलोनालाई थाहा हुनुपर्छ कि [एजेन्ट मिनो] राइओला सस्तोमा बेच्दैनन्, महँगोमा बेच्छन्। हालाण्डको विषयमा पनि उनले त्यस्तै गर्नेछन्।”
हालाण्ड भित्र्याउने बार्सिलोनाको योजना
बार्सिलोना बोरुसिया डर्टमन्डका स्ट्राइकर एर्लिङ हालाण्डलाई अनुबन्ध गर्ने सम्भावनाको खोजी गरिरहेको छ। क्लबका अध्यक्ष जोआन लापोर्टा यति बेला हालाण्डलाई के कसरी भित्र्याउन सकिन्छ भनेर दौडधुप गरिरहेका छन्।
यसबीचमा उनले हालाण्डका एजेन्ट मिनो राइओलासँग पनि भेट गरिसकेका छन्। लापोर्टाले राइओलासँग हालाण्डलाई बार्सिलोनामा ल्याण्ड गराउन सकिने सबै बाटाहरु बारे जानकारी लिएको बताइन्छ।