एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्टार किलियन एम्बाप्पेले सम्बन्धहरू पैसा भन्दा माथि हुने बताएका छन्। हालसालै एक अन्तर्वार्ताका क्रममा एम्बाप्पेले मानव सम्बन्धहरू पैसा भन्दा माथि हुने बताएका हुन्।
आरएमसी स्पोर्ट मार्फत पेरिस म्याचसँग कुराकानी गर्नेक्रममा एम्बाप्पेले स्पष्ट रुपमा मानव सम्बन्धहरुलाई पैसाले पछि पर्न नसक्ने बताए। जीवनको अनुभव कमाएको पैसा भन्दा मूल्यवान हुने एम्बाप्पेको भनाई छ।
“मानव सम्बन्धहरू पैसा भन्दा धेरै मनमोहक हुन्छन्। जीवनको अनुभव जहिले पनि पैसा भन्दा माथि हुन्छ।”,एम्बाप्पेले भने,”अनुभव बटुल्नु पैसा कमाउनु भन्दा बढी महत्त्वपूर्ण हुन्छ भन्ने म मान्छु।”
त्यस्तै एम्बाप्पेले आफ्नो पैसासँग शान्त सम्बन्ध रहेको पनि बताए। पैसा महत्वपूर्ण रहेपनि त्यसकै लागि मरिमेट्ने व्यक्ति आफू नरहेको उनले स्पष्ट पारे। उनले भने,”मेरो पैसासँग शान्त सम्बन्ध छ। मलाई थाहा छ यो महत्त्वपूर्ण छ, म यो पाउँदा खुसी छु। तर म पैसाकै लागि मरिमेट्ने व्यक्ति भने होइन।”
पिएसजी छाड्ने संकेत
पैसा नै सबै कुरा होइन भन्ने टिप्पणी गरिरहँदा एम्बाप्पेले आफू नयाँ खोज गर्ने, नयाँ खेलाडी भेट्ने, नयाँ संस्कृतिमा रमाउन चाहने व्यक्ति रहेको पनि बताएका छन्। एम्बाप्पेको यस्तो भनाईले उनी पिएसजी छाड्ने तयारीमा रहेको संकेत गरेको छ। एम्बाप्पेको पिएसजीमा यस सिजनको अन्त्य सम्मका लागि मात्र सम्झौता छ। एम्बाप्पेले पैसा सबै कुरा होइन भन्ने बताएपछि एम्बाप्पेलाई धनि पिएसजीले रोक्न नसकने चर्चा शुरु भएको छ।

