रेलिगेसनबाट बच्न न्यूक्यासलले खुलेर खर्च गर्ने, यी पाँच खेलाडी माथि नजर ! को-को ? [सूची सहित]

एजेन्सी – प्रिमियर लिग क्लब न्यूक्यासल युनाइटेड यति बेला रेलिगेसनसँग जुधिरहेको छ। प्रिमियर लिगको पुच्छरमा रहेको न्यूक्यासलले यस सिजन मात्र एक खेल जितेको छ। सिजनका १७ खेलिसक्दा ७ बराबरी र ९ हारसँगै यो क्लबले मात्र १० अंक जोडेको छ। न्यूक्यासल लिगको १९ औं स्थानमा छ।

केहि समय अगाडी मात्र साउदी लगानी भित्र्याएको न्यूक्यासलले रेलिगेसनबाट बचेर अगाडी बढ्ने योजना बनाइरहेको छ। त्यसको लागि क्लबले जनवरी ट्रान्सफर विन्डोमा खुलेर खर्च गर्ने योजना बनाएको छ। बताइएअनुसार, जनवरी ट्रान्सफरमा न्यूक्यासलले धेरै भन्दा धेरै खेलाडीहरु माथि बोलि लगाउनेछ। खेल वृत्तमा चलेका चर्चा अनुसार निम्न पाँच खेलाडी न्यूक्यासलले भित्र्याउन सक्छ।

फ्रान्क केसी

एसि मिलानका फ्रान्क केसी अहिले युरोपका सबैभन्दा अण्डरेटेड मिडफिल्डरमध्ये एक रहेका छन्। एसि मिलानमा उनको सम्झौता यस सिजनको अन्त्य सम्मका लागि मात्रै छ। मिलानले सम्झौता थप गर्न चाहेपनि उनी मिलानको प्रस्तावमा सन्तुष्ट हुन सकिरहेका छैनन्। त्यस्तोमा उनलाई न्यूक्यासलले भित्र्याउन सक्छ।

फिलिपे काउटिन्हो

बार्सिलोनालाई मौद्रिक सुदृढीकरणको सख्त आवश्यकता छ। र उनीहरुले धेरै भन्दा धेरै खेलाडीहरुलाई बिक्रीको योजना बनाइरहेका छन्। त्यसमा काउटिन्होको नाम समेत रहेको बताइन्छ। लिभरपुलबाट बार्सिलोना पुगेयता सन्तोषजनक प्रदर्शन गर्न नसकेका उनलाई न्यूक्यासलले भित्र्याउन चासो देखाएको छ। काउटिन्होका लागि प्रिमियर लिग फर्किने र आफूलाई पुनः लयमा फर्काउन न्यूक्यासल उत्कृष्ट गन्तव्य हुन सक्छ।

जेसी लिंगार्ड

गत सिजन लोनमा वेष्ट ह्याम पुग्दा धेरै राम्रो प्रदर्शन गर्न सकेका लिंगार्ड म्यानचेस्टर युनाइटेडमा मौका पाउन सकिरहेका छैनन्। यस्तो अवस्थामा उनले नयाँ क्लबको खोजि गर्नुपर्ने अवस्था देखिएको छ। लिंगार्ड माथि न्यूक्यासलले नजर लगाइरहेको छ। न्यूक्यासलले लिंगार्डलाई जनवरी ट्रान्सफर विन्डोमै भित्र्याउन सक्ने अवस्था देखिन्छ।

पिएरे इमरिक औवामियाङ

आर्सनलका स्ट्राइकर पिएरे इमरिक औवामियाङलाई लिएर प्रिमियर लिग क्लब आर्सेनलमा लफडा उत्पन्न भएको छ। कोरोना प्रोटोकल उल्लङ्घन गरेपछि उनी यति बेला कारवाहीमा परेका छन्। जसकारण उनले आर्सेनलका पछिल्ला खेलहरुमा स्थान बनाउन सकेका छैनन्। पटक-पटक अनुशासन उल्लङ्घन गरेका कारण आर्सनलले उनलाई बिक्री गर्ने योजना बनाएको छ। यस्तोमा उनी न्यूक्यासलको प्राथमिकतामा रहनेछन्।

एन्थोनी मार्शल

जेसी लिंगार्ड जस्तै एन्थोनी मार्शलले पनि म्यानचेस्टर युनाइटेडमा मौका पाउन सकिरहेका छैनन्। केहि समय अगाडी मात्रै उनले युनाइटेड छाड्न चाहेको बारे क्लबलाई जानकारी गराएका थिए। युनाइटेड छाड्ने तयारीमा रहेका उनी माथि न्यूक्यासलको नजर छ। उनलाई भित्र्याएर रेलिगेसनबाट बच्ने न्यूक्यासलको योजना छ।

प्रकाशित : शुक्रबार, पुष ०२, २०७८२२:३०

बायर्नको सानदार जित, लेवान्डोस्कीको कीर्तिमान !