एमालेमा जिम्मेवारी बाँडफाँटः माधव नेपाल निकट नेतालाई बाइपास !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । उनले आफूनिकट र पूर्वमाओवादी समूहलाई महत्वपूर्ण जिम्मेवारी र वरीयताक्रममा माथि राख्दा विगतमा माधवकुमार नेपालनिकट रहेका नेतालाई भने ‘बाइपास’ गरेका छन् । अधिकांश उपाध्यक्षलाई नाम मात्रको जिम्मेवारी दिइएको छ ।

यस्तै, एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी निकटका नेतालाई पनि महत्वपूर्ण जिम्मेवारी दिइएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

२५ र २६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँटका साथै वरीयताक्रम निर्धारण गरेको हो । बैठकले स्थायी कमिटी, पोलिटब्युरो गठनका साथै प्रदेश कमिटीको पदाधिकारीसमेत चयन गरेको अध्यक्ष ओलीद्वारा जारी अन्तरपार्टी निर्देशन (अपानी–१)मा उल्लेख छ ।

अध्यक्ष ओलीले आफ्नो जिम्मेवारीअन्तर्गत पार्टीको समग्र नेतृत्व गर्ने राखेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी दिइएको छ । पोखरेल ओलीभन्दा पनि राष्ट्रपति भण्डारीसँग निकट छन् ।

उपाध्यक्षहरू युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह, अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय, रामबहादुर थापा बादललाई कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णु पौडेललाई पार्टीको सांगठनिक कामको अनुगमन, सुवास नेम्वाङलाई संसदीय मामिला र सुरेन्द्र पाण्डेलाई राजकीय मामिला संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।

यसपटक पार्टीको जिम्मेवारीमा सबैभन्दा बढी उपाध्यक्षलाई खुम्च्याइएको छ । उनीहरूलाई पार्टीका विभिन्न विभागको संयोजन गर्ने जिम्मेवारी मात्रै दिइएको छ । नवौं महाधिवेशनपछि उपाध्यक्षले भूगोलको समेत इन्चार्जको जिम्मेवारी पाएका थिए ।

महासचिव शंकर पोखेरलले पार्टीको सांगठनिक कामको संयोजनको जिम्मेवारी पाएका छन् । पार्टीमा महत्वपूर्ण मानिने स्कुल विभागको जिम्मेवारी उपमहासचिव प्रदीप ज्ञवालीलाई दिइएको छ । ज्ञवाली ओलीनिकट नेता हुन् । यस्तै, प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङले पाएका छन् ।

प्रकाशित : शनिबार, पुष ०३, २०७८०९:०१

अन्तरजातीय विवाहः केटीलाई माइतीले लगे, केटा बेपत्ता !