जुम्ला _ हुम्लाको सर्केगाड गाउँपालिका–१ नाक्पाका १८ वर्षका चन्द्रे कामी र छिमेकी जिल्ला मुगुको सोरुकोट गाउँपालिकाकी १७ वर्षीया सुन्तली मल्लबीच प्रेम बस्यो।
एक महिनाअघि युवतीको गाउँ लिप्रु पुगेर चन्द्रले सुन्तलीलाई भगाएर विवाह गरे। प्रेम गरेर उपल्लो जातकी युवती भगाएर घर ल्याएपछि सामाजिक परम्परा अनुसार धनन्जय कामीले धुमधामका साथ बुहारी भित्र्याए।
उपल्लो जातकी बुहारी भित्र्याएदेखिनै धनन्जयलाई त्रास थियो। नभन्दै बुधबार राति त्यस्तै भयो। केटीको गाउँबाट आएको १२/१५ जनाको समूहले सुतिराखेकै ठाउँबाट केटालाई हात बाँधेर लगेर गयो। ‘मध्य राति १२ बजेतिर आएको केटी पक्षको समूहले गाउँलेका घरका ढोका बाहिरबाट बन्द गरेर केटाकेटी दुवैलाई लगेर गएछन्,’वडाध्यक्ष गोकुल बुढाले भने, ‘केटो अहिलेसम्म बेपत्ता छ।’ वडाध्यक्ष बुढाकाअनुसार केटी पक्षकाले चन्द्रेलाई हात पछाडि बाँधेर नाङ्गै कुट्दै लगेका थिए।
‘मध्यराति मस्त निन्द्रामा रहेको बेला १२/१५ जनाको समूहमा आएका केटी पक्षका मान्छेले गाउँलेका घरका ढोका बाहिरबाट बन्द गरेछन्,’अध्यक्ष बुढाले भने, ‘केटा केटी सुतिरहेको घरको ढोका र झ्याल तोडफोड गरेर केटालाई नाङ्गै डोरीले हात बाँधेर लगेका हुन्।’ गाउँलेहरूले केटालाई लिँदै गर्दा मात्रै थाहा पाएका थिए।
‘गाउँका मान्छे बाहिर निस्कदाँसम्म उनीहरू टाढा पुगिसकेका रहेछन्,’ वडाध्यक्ष बुढाले भने, ‘केटी पक्षकाले मारेर फालेकी भन्ने आशंका हामीलाई छ।’ उनले घटनाबारे प्रहरीले चासो नदिएको भन्दै गुनासो गरे। ‘केटी माइती घरमा पुगिसकेकी छन्,सँगै हात बाँधेर लिएको केटा कहाँ छ भन्ने विषयको सोधखोज प्रहरीले अहिलेसम्म गरेको छैन्,’ उनले भने, ‘दलित केटाले ठकुरीको छोरीसँग माया प्रेम लगाउँदैमा बेपत्ता बनाउन त भएन नि?’

