एजेन्सी – क्याटलान क्लब बार्सिलोना यति बेला पुनर्निर्माणको प्रक्रियामा छ। लियोनेल मेस्सीले छाडेपछि संकटग्रस्त भएको क्लबलाई कसरी अगाडी बढाउने भन्ने कुराले बार्सिलोनाका प्रशिक्षक देखि अध्यक्ष सम्मलाई पिरोलिरहेको छ। भरपर्दो स्ट्राइकर नहुँदा बार्सिलोना नयाँ स्ट्राइकरको खोजिमा जुटिसकेको छ।
कम्जोर आर्थिक अवस्थाका कारण बार्सिलोना झनै जटिल समस्यामा फसेको छ। बार्सिलोना पहिला जस्तो खुलेर खर्च गर्न सकने अवस्थामा छैन। जसकारण चाहेको खेलाडी भित्र्याउन उसलाई हम्मे-हम्मे परिरहेको छ। यसै सिजन फ्रेन्च क्लब लियोनबाट बार्सिलोना आएका डच फरवार्ड मेम्फिस डिपेले सोचे जस्तो प्रदर्शन गर्न नसक्दा बार्सिलोना झनै समस्यामा परेको छ।
सिजनको शुरुवातमा राम्रो संकेत देखाएपछि सिजन अगाडी बढ्दै जाँदा उनले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकिरहेका छैनन्। जसकारण बार्सिलोना नयाँ स्ट्राइकरको खोजि गर्न बाध्य भएको छ।
हालाण्ड माथि नजर
यति बेला बार्सिलोनाको मूख्य टार्गेट नर्वेली युवा स्टार एर्लिङ हालाण्ड रहेका छन्। हालाण्डलाई भित्र्याउनको लागि बार्सिलोना अध्यक्ष जोआन लापोर्टाले दौडधुप बढाएको अवस्था छ। उनले हालाण्डका एजेन्ट मिनो राइओलालाई समेत भेटिसकेका छन्। राइओलाले हालाण्डलाई बार्सिलोनामा ल्याण्ड गराउन आवश्यक श्रोतहरुको बारेमा जानकारी गराएपछि लापोर्टा त्यस तर्फ केन्द्रित भएका छन्।
बताइएअनुसार, राइओला हालाण्डलाई बार्सिलोनाको ९ नम्बर जर्सी दिलाउन चाहन्छन्। राइओलाको उक्त चाहना पछि हाल जर्सी नम्बर ९ का डिपे को स्थान धरापमा परेको छ। बार्सिलोनाले डिपेलाई बिक्री गर्न सक्ने सम्भावना समेत बढेको छ। डिपेलाई बिक्री गर्न सक्ने बार्सिलोनाले आम्दानी पनि गर्ने र पारिश्रमिक पनि कटौती हुनेछ।