एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सातौं जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई पराजित गर्दै सिजनको सातौँ जित निकालेको हो।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–२ ले पराजित गर्यो। बार्सिलोनाको जितमा फेरान जुट्ग्ला, पाब्लो गाभिरा र निको गोन्जालेजले गोल गरे। त्यस्तै इल्चेको तर्फबाट भने टेटे मोरेन्टे र पेरे मिल्लाले गोल गरे।
इल्चे विरुद्धको जित बार्सिलोनाको पछिल्लो पाँच खेलको पहिलो जित हो। बार्सिलोनाले पछिल्लो पटक नोभेम्वर अन्तिममा भिल्लारियललाई पराजित गरेयता कुनै पनि टीमलाई हराइउन सकेको थिएन। २८ नोभेम्वरमा भिल्लारियललाई ३–१ ले पराजित गरेपछि बार्सिलोनाले २ खेलमा हार र २ खेलमा बराबरी खेलेको थियो।
पछिल्लो जितसँगै बार्सिलोनाले २७ अंक बनाएको छ। सिजनका १७ खेल खेल्दा बार्सिलोनाले ४ हार बेहोरेको छ भने ६ खेलमा बराबरी खेलको छ। हाल बार्सिलोना लालिगाको सातौं स्थानमा छ।
गाभीले मेस्सीलाई पछि पारे
इल्चे विरुद्धको खेलमा पाब्लो गाभिरा’गाभी’ले बार्सिलोनाका लागि पहिलो गोल गरेका छन्। खेलको १९औं मिनेटमा गाभीले गरेको गोल उनको बार्सिलोनाका लागि डेब्यु गोल हो।
इल्चे विरुद्ध गोल गरेसँगै गाभी बार्सिलोनाका लागि गोल गर्ने तेस्रो कान्छा खेलाडी बनेका छन्। उनले लियोनेल मेस्सीलाई समेत पछि पारेका छन्। मेस्सीले १७ वर्ष ३ सय ३१ दिनमा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए भने गाभीले १७ वर्ष १ सय ३५ दिन हुँदै गोल गरे।

