एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का खेलकुद निर्देशक लियोनार्डोले युवा स्टार किलियन एम्बाप्पेले सम्झौता थप गर्ने सम्भावना कायमै रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा लियोनार्डोले एम्बाप्पेले पिएसजीमा सम्झौता थप गर्ने सम्भावना बाँकी रागेको बताएका हुन्।
युरोप वानसँग कुराकानी गर्नेक्रममा लियोनार्डोले क्लब र एम्बाप्पे बीच सम्झौता थप गर्नको लागि सहमति हुन सक्ने विश्वास व्यक्त गरे। लियोनार्डोका अनुसार अवस्था जटिल भएपनि सबै सम्भावनाको अन्त्य भएको छैन। लियोनार्डोले एम्बाप्पे सधै पिएसजीमै रहुन् भन्ने आफूहरुको चाहना रहेको पनि सुनाए।
“हामी एम्बाप्पे सधैंभरी यहिँ रहुन् भन्ने चाहन्छौं। र हामीले उनको चाहनाको कदर पनि गर्नुपर्छ। भन्नुपर्दा अहिलेको अवस्था धेरै नै जटिल छ। तर मलाई लाग्छ कि उनले सम्झौता थप गर्ने सम्भावना अझै बाँकी छ। मलाई विश्वास छ कि यो सम्भव छ।”,लियोनार्डोले भने।
एम्बाप्पेको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदै छ। पिएसजीले सम्झौता थप गर्नको लागि एम्बाप्पेलाई लगातार दबाव दिँदै आएको छ। तर एम्बाप्पेले पिएसजीका प्रस्तावहरुसँग सहमत हुन सकिरहेका छैनन्।
पिएसजीले अहिले सम्म कयौं प्रस्तावहरु एम्बाप्पे सामू राखिसकेको छ। एम्बाप्पेलाई क्लबमा अड्याउन पिएसजी खुलेर खर्च गर्न तयार छ। तर रियल म्याड्रिड जाने चाहनाले उनलाई पिएसजीमा सम्झौता थप गर्न दिरहेको छैन। केहि दिन अगाडी मात्र एम्बाप्पेले पैसा नै सबै कुरा नहुने बताएका थिए।

