एजेन्सी – जटिल आर्थिक अवस्थाको बावजुद बार्सिलोना एर्लिङ हालाण्डलाई अनुबन्ध गर्ने खोजिरहेको छ। लियोनेल मेस्सीले छाडेपछि कम्जोर भएको आक्रमण पङ्तीलाई मजबुत बनाउनको लागि जसरी पनि हालाण्डलाई भित्र्याउने बार्सिलोनाको योजना छ।
हालाण्डलाई भित्र्याउन बार्सिलोनाले भित्र-भित्रै तयारी गरिरहेको सबैलाई थाहै छ। हालाण्ड भित्र्याउनको लागि आवश्यक हुने आर्थिक श्रोत जुटाउन क्लबका अध्यक्ष जोआन लापोर्टा लागिरहेका छन्। यस्तोमा जनवरीमै बार्सिलोनाले हालाण्ड भित्र्याउन सक्ने हो कि होइन भन्ने कुरा स्पष्ट छैन।
यसै बीच हालाण्डका एजेन्ट मिनो राइओलाको एक भनाईले बार्सिलोनालाई ठूलो राहत मिलेको छ। एक अन्तर्वार्ताका क्रममा राइओलाले बार्सिलोनाका लागि हालाण्डले कुर्न सक्ने बताए। राइओलाका अनुसार हालाण्डलाई कुनै पनि हतारो छैन।
“के हालाण्ड बार्सिलोनाको लागि पर्खन सक्छन् ? पक्कै पनि उनी जुन सुकै क्लबको लागि पर्खन सक्छन्। किनकि उनलाई हतारो छैन।”,एक अन्तर्वार्ताका क्रममा राइओलाले सोधिएको प्रश्नको जवाफ दिँदै भने।
राइओलाले आफूहरु हालाण्डका लागि उत्कृष्ट गन्तव्यको खोजि गरिरहेको स्पष्ट पारे। हालाण्डलाई राम्रो भन्दा राम्रो क्लबमा पुर्याउने आफूहरुको योजना रहेका कारण हतार गर्नुपर्ने अवस्था नरहेको राइओलाको भनाई छ। राइओलाका अनुसार हालाण्ड अझै एक वर्ष डर्टमण्डमै बस्न पनि सक्छन्।
उनले भने,”हामी उनको लागि उत्तम विकल्प खोजिरहेका छौँ। उनी अझै एक वर्ष डर्टमण्ड नबस्लान् भन्न सकिँदैन। हामीलाई कुनै हतारो छैन। त्यसैले हालाण्ड तत्कालका लागि डर्टमण्डमै हुन सक्छन्।”