एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का खेल निर्देशक लियोनार्डोले फुटबलको विषयमा जानकारी नहुनेले मात्र लियोनेल मेस्सीलाई लिएर तर्क-वितर्क गर्ने बताएका छन्। युरोप वानसँग कुराकानी गर्नेक्रममा लियोनार्डोले मेस्सी बारे तर्क-वितर्क फुटबल थाहा नहुनेले मात्र गर्ने बताएका हुन्।
लियोनार्डोले मेस्सी उत्कृष्ट खेलाडी हुन् भन्ने कुरामा कुनै पनि विवाद नरहेको बताए। लियोनार्डोको नजरमा मेस्सी निर्विवाद विश्वको सर्वोत्कृष्ट खेलाडी हुन्।
“लियोनेल मेस्सी मेरो लागि निर्विवाद छन्। यदि तपाइँ मेस्सीको बारेमा तर्क-वितर्क गर्नुहुन्छ भने, तपाइँले फुटबलको बारेमा केहि बुझ्नुभएको छैन। यसमा हामीलाई शंका छैन।”,लियोनार्डोले भने।
यसै सिजन बार्सिलोनाबाट फ्रान्स पुगेका मेस्सी केहि संघर्ष गरिरहेका छन्। पिएसजीमा घुलमिल हुनको लागि उनलाई केहि समस्या भैरहेको छ। फ्रेन्च लिग वानमा उनले अहिले सम्म मात्रै १ गोल गरेका छन्।
त्यस विषयमा समेत बोल्दै लियोनार्डोले मेस्सीले राम्रो फुटबल खेलिरहेको बताए। उनका अनुसार मेस्सी र किलियन एम्बाप्पे पिएसजीका हरेक गोलमा संलग्न छन्। मेस्सी आवश्यक परेको अवस्थामा निर्णायक भइरहेको पनि लियोनार्डोले बताए।
“यदि तपाइँ मेस्सीको संख्या हेर्नुहुन्छ भने, पहिलो छ महिनामा त्यो अविश्वसनीय छ। उनी र किलियन एमबाप्पे लगभग हरेक क्लब गोलमा संलग्न छन्। उनी परिभाषित र निर्णायक छन्।”,उनले भने।
मेस्सी कम दौडिन्छन् भन्दै हुने गरेको आलोचनामा पनि लियोनार्डोले मेस्सीको बचाउ गरे। मेस्सीको खेल्ने शैली नै यस्तै रहेको लियोनार्डोको भनाई छ। उनले भने,”कसले भन्छ उनले हरेक खेलमा १२ किलोमिटर दौड्नु पर्छ? उनी २० वर्षदेखि उस्तै खेल्दै आएका छन्।”