काम उस्तै, सेवासुविधामा भने भेदभाव !

काठमाडौं : संगठन छुट्टाछुट्टै। सांगठनिक संरचना र कामको प्रकृति उस्तै। देशमा शान्ति–सुरक्षा कायम गर्नु जिम्मेवारी। तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बढुवादेखि सेवासुविधासम्म विभेद छ। यी दुई संगठनका नियमावलीमा असमान प्रकारका व्यवस्था समेटिएका छन्। यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।

प्रहरीमा कार्यालय सहयोगीको जागिर अवधिभर स्तरवृद्धि हुँदैन। तर, सशस्त्र प्रहरीमा पाँच वर्ष पुगेपछि एक स्तर बढ्दै जान्छ। प्रहरीमा डीएसपीसम्मले अनिवार्य अवकाश प्राप्त गर्ने बेला एक तह पदोन्नति पाउन सोही पदमा १२ वर्ष पूरा गरेको हुनुपर्छ। सशस्त्रमा पाँच वर्ष पुगेपछि एसपीसम्मले पदोन्नति पाउँछन्। प्रहरीमा एसएसपीको पदावधि ६ वर्ष हुन्छ। सशस्त्रको सोही पदमा ७ वर्षे पदावधि तोकिएको छ। प्रहरीमा ग्रेड थप हुन स्तरवृद्धि भएको एक वर्ष काम गरेको हुनुपर्छ। सशस्त्रको स्तरवृद्धि हुँदा नै एक ग्रेड थप गरिएको हुन्छ।

अवकाशपछि पाउने औषधोपचार खर्च पनि असमान छ। ३० वर्ष काम गरेर अवकाश प्राप्त प्रहरीले आफूले पाउने औषधोपचार खर्चको १० प्रतिशत थप रकम मात्रै पाउँछन्। यही अवस्थामा सशस्त्रले २० प्रतिशत थप रकम पाउने व्यवस्था छ।

प्रहरीका एक एसपीका अनुसार रासन भत्तामा पनि विभेद छ। ‘नेपाल प्रहरीमा १६ आइटम रासन थियो भने सशस्त्रमा २१ आइटम। पछि यो हटाएर नियमावलीबाटै नगद सिस्टममा गयो’, नाम नबताउने सर्तमा ती एसपी भन्छन्, ‘रासनबापत आउने नगद पनि प्रहरीको कम छ।’

एउटै मन्त्रालयअन्तर्गतका उस्तै प्रकृतिका दुई संगठनमा असमान सुविधा हुनु न्यायसंगत नरहेको प्रहरीका पूर्वएसएसपी डा. गणेश रेग्मी बताउँछन्। ‘पाँच वर्ष एउटा तहमा बसेको सशस्त्र प्रहरी एक तह बढुवा हुने तर नेपाल प्रहरी उही पदमा नै रिटायर्ड हुनुपर्ने ? यस्तो असमान व्यवस्थाले उसले पाउनुपर्ने सुविधा, वैध अपेक्षामा असर पर्छ। मनोबल कमजोर हुने हुन्छ’, अधिवक्तासमेत रहेका डा. रेग्मी भन्छन् ।

उनी भन्छन्, ‘संस्थाका आ–आफ्ना ऐन नियमअनुसार सेवासुविधा हुन्छ। तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच वैध अपेक्षाका व्यवस्था त समान हुनुपर्‍यो नि !’

प्रकाशित : बुधबार, पुष ०७, २०७८०९:०२

तीनै तहका निर्वाचन फागुन सम्म !