मंगलबार भारी गिरावट आएको सुनको मूल्य आज पनि घटेको छ। हप्ताको पहिलो दिन घटेर सोमबार पुन: उकालो लागेको सुनको भाउ मंगलबार र बुधबार भने लगातार ओरालो लागेको छ।
सोमबारको तुलनामा प्रतितोला ८ सय रुपैयाँले घटेर मंगलबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार ४ सय रुपैयाँले घटेको छ। जससँगै आज नेपाली बजारमा छापावाला सुनको भाउ ९२ हजार ६ सय रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, बुधबार तेजाबी सुनको भाउमा पनि तोलाको ४ सय रुपैयाँका दरले गिरावट आएको छ। सोमबारको तुलनामा मंगलबार ८ सयले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य बुधबार थप ४ सय रुपैयाँ घटेपछि तोलाको ९२ हजार १ सयमा किनबेच भइरहेको छ।
दुई दिनमा १२ सयले घट्यो सुनको भाउ
मंगलबार र बुधबार दुई दिन मै सुनको भाउ तोलामा १२ सय रुपैयाँले ओरालो लागेको थियो। हप्ताको पहिलो दिन आइतबार छापावाला सुन ९३ हजार ६ सय र तेजाबी सुनको भाउ ९३ हजार १ सय कायम भएको थियो भने सोमबार छापावाला सुन र तेजाबी सुन क्रमशः ९३ हजार ८ सय र ९३ हजार ३ सयमा कारोबार भएको थियो। त्यसपछिका दुई दिनमा मंगलबार ८ सय र आज बुधबार ४ सय गरेर दुई दिनमा तोलाको १२ सयले ओरालो लागेको हो।
चाँदीको मूल्य भने बढ्यो
बुधबार चाँदीको भाउ भने उकालो लागेको छ। मंगलबार घटेर १२ सय ३५ रुपैयाँमा किनबेच भएको चाँदी आज १० रुपैयाँले बढेर १२ सय ४५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।