फुटबल जगतका धेरै दिग्गज खेलाडीहरूले करियरको नम्र सुरुवात गरेका थिए। वर्षौंदेखि अविश्वसनीय प्रदर्शन र स्थिरताको साथ, यी खेलाडीहरू खेलमा प्रतिष्ठित व्यक्तित्व बनेका छन्। यद्यपि, केहि पनि सधैं एक जस्तो हुँदैन। यो स्वाभाविक हो कि माथि जाने सबै कुरा अन्ततः तल आउँछ।
यसबाट फुटबलर पनि अछुतो छैनन्। यो वर्ष केही दिग्गज सुपरस्टारको प्रदर्शनमा उल्लेखनीय गिरावट आएको छ। उनीहरूले या त आफ्नो खेलका केही प्रमुख पक्षहरू गुमाएका छन्, वा उनीहरूले पहिलेको जस्तै जादू सिर्जना गर्न संघर्ष गरेका छन्। यी खेलाडी आफ्नो शिखरमा हुँदा कै खेलाडीको छायाँ बनेका छन्। २०२१ सकिँदै गर्दा, यस्ता पाँच दिग्गज खेलाडीहरूलाई हेरौं जसले यस वर्ष गिरावटको संकेत देखाएका छन्।
सर्जियो बुस्केट

फुटबल जगत कै सर्वश्रेष्ठ डिफेन्सिभ मिडफिल्डर मध्ये एक मानिने स्पेनिस तथा बार्सिलोना स्टारलाई अब उमेरले साथ नदिएको पनि हुनसक्छ। उनले यस वर्ष बार्सिलोनाको मिडफिल्डमा खासै प्रभाव पार्न सकेका छैनन्।
लुइस सुआरेज

गत सिजन एथलेटिको म्याड्रिडले बार्सिलोना र रियल म्याड्रिडलाई पछि पार्दै लालिगा उपाधि जित्दा पूर्व बार्सिलोना स्ट्राइकर स्टार खेलाडी रहेका थिए। उनले गत सिजन म्याड्रिडका लागि ३२ खेलमा २३ गोल गरेका थिए। तर यस सिजन भने उनको चमक कतै देखिएको छैन। उनी हाल क्लबका लागि पछिल्ला ७ खेलमा बिना गोल रहेका छन् जुन उनको करियरमा पछिल्लो ७ वर्ष यता कै सबैभन्दा लामो खडेरी हो।
ज्लाटान इब्राहिमोभिक

एसी मिलान स्टार इब्राहिमोभिक अर्का स्टार हुन् जसले २०२१ मा गिरावटको सङ्केत देखाए। गत सिजन मिलानलाई सरी-ए टप ४ मा पार्नको लागि निकै उत्कृष्ट प्रदर्शन गरेका स्विडिस स्टार यस सिजन भने लगातार चोटसँग संघर्ष गरिरहेका छन्। यस सिजन उनले अहिलेसम्म कुल १० खेल चोटका कारण गुमाईसकेका छन्। यस सिजन उनले मिलानका लागि सबै प्रतियोगितामा १५ खेलमा मात्र ७ गोल गर्न सफल भएका छन्।
क्रिस्टियानो रोनाल्डो

यसै सिजन मात्र म्यानचेस्टर फर्किएका रोनाल्डोले धेरै पटक युनाइटेडलाई बचाएका छन्। तर समग्रमा उनको खेल खस्किएको प्रष्ट रूपमा देख्न सकिन्छ, विशेषगरी ठूला खेलहरुमा। लिभरपुलले आफ्नै मैदानमा रेड डेभिल्सलाई ५-० ले पराजित गर्दा रोनाल्डो हराए। सोहि भयो जब उनी म्यानचेस्टर सिटी, चेल्सी, एस्टन भिल्ला विरुद्ध उत्रिए।
लियोनल मेस्सी

यस समर बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेनमा आबद्ध भएदेखि लियोनल मेस्सीले निकै कठिन समय भोगेका छन्। फ्रान्सको राजधानीमा अर्जेन्टिनी स्टारले खासै प्रभाव पार्न सकेका छैनन्। विशेषगरी लिग १ मा निकै संघर्ष गरेका मेस्सीले पीएसजीका लागि १० लिग खेलमा मात्र एक गोल गर्न सफल भएका छन्। यसले पछिल्ला केही हप्ताहरूमा धेरै गडबड उत्पन्न गरेको छ।

