‘केपी ओली गफाडी भइसके, बा भन्दिए पुग्छ’

सल्यान । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओली गफाडी मात्रै भएको बताएका छन् । ओलीले आश्वासन दिने तर जनभावना विपरीत काम गर्ने भएकाले ओली गफाडी नै भएको नेपालले दावी गरेका हुन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

पार्टीको सल्यान जिल्ला कमिटीले शुक्रबार खलंगामा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब केपी ओली बाममन्थी नरहेको र उनी रामपन्थी रहेको आरोप लगाए । उनले ओलीकै अहम्ता र घमण्डका कारण पार्टीमा बेमेलको अवस्था सिर्जना भएको बताए ।

‘ओलीले पार्टीमा मनपरी तन्त्र चलाए, यसले पार्टीलाई भलो गर्दैन्, दुईतिहाइ प्राप्त पार्टी अहिले सरकारबाहिर रहेको छ’, उनले भने, ‘यसरी पार्टी चल्दैन भनेर नै हामीले बिद्रोह गरेका हौँ, यसको सुरुआत कर्णालीबाट भएको हो ।’ कम्युनिस्टको खोल ओडेर ओलीले यसरी गफ लगाउँदैमा कम्युनिस्ट हुनै नसक्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले ओलीकै कारण एमाले पार्टीको भविष्य अन्धकार बनेको र सूर्य चिन्हमा ग्रहण लागेको बताए । पार्टी र देशको विकास, समृद्धिसँगै संविधान र लोकतन्त्रको रक्षाको लागि नेपालमा नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिको रूपमा उदाएको बताए । ‘हाम्रो पार्टीले जितेमा देश र जनताको कल्याण हुनेछ’, उनले भने । ‘पार्टीप्रति नागरिकको आकर्षण बढेको छ, पार्टी पुनर्गठन अभियान देशभर सञ्चालन भइरहेको छ ।’

नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम सत्य र न्यायको प्रतिक भएको बताए । ‘अब तपाईंले कलममा भोट हाल्नुपर्छ, कलम सत्य र न्यायको प्रतिक हो’, उनले भने । आउँदो चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुने बताउँदै उनले दक्षिणपन्थी र राजतन्त्र पक्षधरसँग भने कुनै पनि हालतमा गठबन्धन बन्न नसक्ने ठोकुवा गरे ।

फरक प्रसंगमा उनले सल्यान जिल्ला थुप्रै सम्भावना बोकेको जिल्ला भएको बताए । जिल्लामा उत्पादन हुने कृषि तथा पशु र पर्यटनलाई अगाडि बढाउन सकियो भने आर्थिक रूपमा जिल्ला सक्षम हुने उनले दावी गरे । उनले जिल्लाको विकास र समृद्धिको लागि सहयोग गर्न आफू तयार भएको बताए ।

यस्तै पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन सबैमा आग्रह गरे । केही कार्यकर्ताहरू विभिन्न भ्रम र आश्वासनको भर परेर एमालेमा रहेको भए पनि बिस्तारै उनीहरू पनि आफ्नो भविष्य सुनिश्चितताको लागि कलम चिन्हभित्र गोलबद्ध हुने उनले बताए ।

प्रकाशित : शनिबार, पुष १०, २०७८१०:११

जुजु धौले ट्रेडमार्क दर्ता गर्ने !