युइएफए नेसन्स लिगमा ब्राजिल र अर्जेन्टिना पनि सहभागी हुने !

एजेन्सी – युरोपेली फुटबल महासंघ (युइएफए) ले युइएफए नेसन्स लिगमा १० दक्षिण अमेरिकी राष्ट्रलाई पनि समेट्ने तयारी गरेको छ । युइएफएले सन् २०२४ देखि ब्राजिल र अर्जेन्टिनासहित १० दक्षिण अमेरिकी देशलाई युइएफए नेसन्स लिगमा समावेश गर्ने तयारी गरेको हो ।

युइएफएका उपाध्यक्ष बिग्नी बोनिकका अनुसार दक्षिण अमेरिकी फुटबल संघ (कोन्मेबोल) सँगको समन्वयमा नेसन्स लिगमा सहभागी हुने टोलीको संख्या बढाउने र सहमतिमा हस्ताक्षर हुन बाँकी रहेको बताइएको छ ।

‘यो ढाँचामा जारी नेसन्स लिग अन्तिम हो । हामीले कोन्मेबोलसँग छलफल गरिसकेका छौं । २०२४ देखि दक्षिण अमेरिकी राष्ट्रले पनि नेसन्स लिगमा सहभागिता जनाउनेछन् । ति १० देश सहभागी भएपछि कुन ढाँचाबाट नेसन्स लिग खेलाइने भन्ने विषय छलफलको क्रममा छ ।’ युइएफएका उपाध्यक्ष बिग्नी बोनिकले भने ।

बोनिकका अनुसार दक्षिण अमेरिकाका शीर्ष ६ टिम अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, चिली, पेरु र उरुग्वेले लिग ‘ए’ बाट नेसन्स लिगमा सहभागिता जनाउने छन् । उनीहरूको खेल स्पेन, जर्मनी, इंग्ल्यान्ड र फ्रान्सजस्ता टोलीविरुद्ध हुने सम्भावना छ । अन्य चार टिम बोलिभिया, पराग्वे, इक्वाडर र भेनेज्वला भने लिग ‘बी’ मा रहने छन् । यी सबै खेलहरू युरोपमै हुनसक्ने छ ।

फिफाले २०२४ सम्मको अन्तर्राष्ट्रिय खेलको क्यालेन्डर अझैसम्म बनाएको छैन । तर फिफाले हरेक दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्न खोजिरहेको छ । यद्यपि, युइएफए र कोन्मेबोल भने फिफाको यो योजनाको विरोध गरिरहेका छन् ।

गत संस्करणको युरोपियन च्याम्पियनसिपको विजेता र कोपा अमेरिकाको विजेताबीच खेल हुने यसअघि नै तय भइसकेको छ । सुपर कप नाम दिइएको उक्त खेलमा गत संस्करणको युरो च्याम्पियन इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिना भिड्नेछन् । यो खेल लण्डनमा आगामी १ जुन २०२२ मा हुनेछ ।

प्रकाशित : शनिबार, पुष १०, २०७८१०:१६

लिभरपुल र पिएसजीलाई बायर्नको झड्का, राफिन्हा भित्र्याउने दौडमा सबै भन्दा अगाडी देखियो !