डेम्बेले सित्तैमा फुत्किने डर !

एजेन्सी – धेरै महिनाको वार्ता पछि, बार्सिलोना र ओस्मान डेम्बेले एक सहमति नजिक पुग्न लागेका छन्। सम्झौता थपका लागि गएको केहि समय देखि चलिरहेको छलफल सहमति नजिक पुगेको हो।

विभिन्न स्पेनिस मिडियाहरुले गरेको दावी अनुसार डेम्बेले र बार्सिलोना बीच सन् २०२४ सम्मका लागि सम्झौता थप गर्ने सहमति हुन सक्छ। दुवै पक्ष सहमति नजिक पुगेको भएपनि सम्झौता थप हुन्छ नै भन्ने अवस्था भने छैन। अहिले सम्म दुवै पक्षबाट कुनै पनि मौखिक सहमति समेत भएको छैन। दुवै पक्ष निरन्तर छलफलमा रहेको र छलफल सकारात्मक दिशामा अगाडी बढेको बताइन्छ।

सन् २०१७ मा बार्सिलोना पुगेका डेम्बेले लगातार घाइते हुँदै आएका छन्। शरीरले साथ नदिँदा उनीबाट जे अपेक्षा गरिएको थियो, त्यो हुन सकिरहेको छैन। डेम्बेलेले कमै मात्र मौका पाउँदै आएकोमा प्रशिक्षकमा जाभी नियुक्त भएपछि उनले राम्रोसँग मौका पाउने संकेत देखा परेको छ। जाभीले डेम्बेलेलाई लिएर अगाडी बढ्ने संकेत गरिसकेका छन्। प्रशिक्षकमा नियुक्त हुने बितिकै उनले डेम्बेले आफ्नो योजनामा हुने बताएका थिए।

फ्री एजेन्टको रुपमा बाहिरिने डर

बार्सिलोनालाई सबै भन्दा ठूलो डर यो छ कि डेम्बेले फ्री एजेन्टका रुपमा बाहिरने छन्। महँगो मूल्य तिरेर ल्याइएका डेम्बेले फ्री ट्रान्सफरमा अन्यत्र जानबाट रोक्नको लागि बार्सिलोनाले सम्झौता थपको तयारी गरिरहेको छ। यदि सम्झौता थप गर्न नमानेको खण्डमा उनलाई बार्सिलोनाले जनवरीमै बिक्री गर्ने प्रयास गर्नेछ।

प्रकाशित : शनिबार, पुष १०, २०७८१०:५८

देशभर चिसो अझै बढ्ने, पानी पर्ला कि नपर्ला ?