एजेन्सी – आर्सनलका पूर्व गोलकिपर डेभिड सिम्यानले मोहम्मद सलाह उत्कृष्ट खेलाडी भएर पनि कम चर्चा पाउने गरेको बताएका छन्। एक पोडकास्टसँग कुराकानी गर्नेक्रममा सिम्यानले सलाह धेरै खेलाडी भन्दा माथि रहेर पनि कम चर्चामा रहने गरेको बताएका हुन्।
उक्त पोडकास्टमा आफ्नो धारणा राख्दै सलाहले पाउनुपर्ने जति सम्मान नपाइरहेको बताए। सिम्यानका अनुसार उनको नजरमा सलाह ‘अन्डररेटेड’ खेलाडी हुन्। सलाहको मिहिनेतले पूर्णरुपमा सम्मान नपाएको सिम्यानको भनाई छ।
“सलाह प्लेयर अफ द इयर हुन्। मेरो लागि सबै भन्दा माथि कोहि छ भने ती सलाह हुन्। अहिले मात्र होइन सधै उनले उत्कृष्ट खेलिरहेका छन्। तर उनले पाउनुपर्ने जति सम्मान पाइरहेका छैनन्”,सिम्यानले भने।
सलाहको यो लय
सलाह लिभरपुल आएदेखि छुट्टै लयमा छन्। पहिला मध्यम स्तरका स्ट्राइकर रहेपनि उनी लिभरपुल आएपछि विश्वकै उत्कृष्ट स्ट्राइकरको रुपमा अगाडी बढिरहेका छन्। गएको सिजना केहि कम्जोर देखिएपनि नयाँ सिजन शुरु हुँदा सलाह उत्कृष्ट फर्ममा देखिएका छन्।
जारी सिजनमा सलाहले लिभरपुलका लागि प्रिमियर लिगमा १५ गोल गरिसकेका छन्। सिजनका १८ खेल खेल्दा सलाहले ९ असिस्ट पनि दिएका छन्। त्यस्तै च्याम्पियन्स लिगमा पनि उनले यस सिजन ७ गोल गरिसकेका छन्।