एजेन्सी – ९ गोलको थ्रिलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ । गोलको वर्षा भएको खेलमा सिटीले लेस्टरलाई ६–३ को गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको सानदार जितमा रहिम स्टर्लिङले दुई तथा केभिन डि ब्रुयन, रियाद महारेज, इल्केए गुन्डोगान र एमेरिक लापोर्टेले समान एक गोल गरे । लेस्टरका जेम्स म्याडिसन, एडेमोला लोकमन र केलिची इहानाचोले समान एक गोल गरेपनि हार टार्न सकेन ।
घरेलु मैदानमा सिटीले खेलको सुरुवाती २५ मिनेट भित्र नै ४–० को आरामदायी अग्रता लिएको थियो । दोस्रो हाफमा लेस्टरले १० मिनेटको अन्तरमा तीन गोल गर्दै खेलमा फर्कने संकेत दिएपनि त्यसपछि गोल थप्न नसक्दा लेस्टर पराजित हुन पुग्यो ।
खेलको पाँचौ मिनेटमा फर्नान्डिन्होको पासमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । १४औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । युरी टिलेमान्सले एमेरिक लापोर्टेलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा महारेज चुकेनन् ।
२१औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए । २५औं मिनेटमा रहिम स्टर्लिङले पेनाल्टीमा गोल गर्दै सिटीलाई २५ मिनेट भित्रै ४–० को आरामदायी अग्रता दिलाए । यसपटक टिलेमान्सले रहिमलाई फउल गर्न पुगेका थिए । पहिलो हाफमै ४–० ले पछि परेको लेस्टरले दोस्रो हाफमा १० मिनेटमा अन्तरमा तीन गोल गर्दै खेलमा फर्कने संकेत दिए ।
५५औं मिनेटमा म्याडिसनले केलिचीको पासमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ५९औं मिनेटमा एडेमोलाले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए । ६५औं मिनेटमा केलिचीले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए ।
६९औं मिनेटमा एमेरिक लापोर्टेले गोल गर्दै सिटीलाई ५–३ ले अघि बढाउँदा लेस्टरको खेलमा फर्कने सम्भावा टाढियो । ८७औं मिनेटमा स्टर्लिङले रुवेन डियासको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गर्दै सिटीको जित पक्का गरे ।
यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको १९ खेलबाट ४७ अंक पुगेको छ । सिटीले दोस्रो स्थानको लिभरपुललाई ६ अंकले पछि पारेको छ । एक खेल कम खेलेको लिभरपुलको ४१ अंक छ । पराजित लेस्टर २२ अंक जोडेर १०औं स्थानमा छ ।