कालो धन थुपार्नेको काइदा : बोरामा भरेर राखेका थिए २७५ किलो सुनचाँदी !

दिल्ली । भारतको कानपुरमा अत्तर व्यवसायी पियूष जैनको घरबाट कालो धन भेटिने सिलसिला जारी भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । सुरुमा कानपुरबाट १७७ करोड भारु नगद भेटियो र अहिले उनको कन्नौजस्थित घरमा पनि खजाना भेटिएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

यहाँ आइतबार तेस्रो दिनपनि जैनको घर र कारखानामा सेन्ट्रल गुड्स एण्ड सर्भिस ट्याक्स (सिजिएसटी) र आइटीको अनुसन्धान जारी छ । शनिबार अबेर राती उनको घरमा एउटा गोदाम पनि भेटियो । यसमा २५० किलो चाँदी र २५ किलो सुनले भरिएका बोरा भेटिए ।

चाँदीको मूल्य करिब पौने दुई करोड भारु र सुनको मूल्य करिब १२ करोड भारु बताइएको छ । साथै, उक्त समूहले १०७ करोड नगद पनि पाएको छ । हालसम्म जम्माजम्मी २८४ करोड भारु भेटिइसकेको छ । प्रहरीले व्यापारीका दुई छोरा प्रत्युष जैन र प्रियांश जैनका साथै अन्य कारखानाको अनुसन्धानमा जुटेको छ ।

स्रोतले दिएको जानकारी अनुसार गोदाममा नोटले भरिएका ९ बोरा पनि भेटिएका छन् । यसमा धेरैजसो नोट दुई हजारका हुन् । बाँकी ५ सय भारुका नोट छन् । अहिले नै यो गन्न सकिने अवस्थामा छैन । नोट गन्नका लागि कानपुरबाट ७ वटा मेसिन मगाइएको छ ।

यसका साथै बैंक अधिकारीलाई पनि बोलाइएको छ । यद्यपि, यो ५० करोडको नगद भएको अनुमान छ । एउटा झोलामा साँचो मात्रै भेटिएका छन् । कानपुरपछि कन्नौजमा जैनको घरबाट भेटिएको नगद र गहना देखेर अधिकारी दंग छन् ।

आइटीको समूहले हालसम्म जैनको कन्नौजमा तीनवटा घर र कारखानाबारे पत्ता लगाएको छ । समूहले चारैतिर अनुसन्धान थालेको छ । घरका भित्तामा यति गोप्य लकर र दराज बनाइएका छन् कि यसबारे पत्ता लगाउन अधिकारीका लागि मुश्किल छ ।

यसैकारण आइतबार बिहान लखनऊबाट आर्किटेक्ट इन्जिनियरको समूहलाई बोलाइएको छ । करोडौं भारु र सुन भेटिएको जानकारी पाएपछि त्यहाँ थानाका थुप्रै फोर्स पनि लगाइएको छ ।

प्रकाशित : सोमबार, पुष १२, २०७८०९:२७

परीक्षा मूल्यांकनको नयाँ व्यवस्था, अब अब ३५ नआए फेल !