एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले सिजनका बाँकी सम्पूर्ण खेललाई फाइनल सम्झिएर खेल्ने बताएका छन्। प्रिमियर लिगमा एस्टन भिल्ला विरुद्ध संघर्षपूर्ण जित निकालेपछि लुकाकुले सिजनका सबै खेल अब फाइनल सम्झिएर खेल्ने बताएका हुन्।
आइतबार प्रिमियर लिगमा घरेलु टोली एस्टन भिल्लामाथि चेल्सीले ३–१ को गोल अन्तरले पराजित गरेको थियो। त्यसक्रममा रोमेलु लुकाकुले पनि एक गोल गरेका थिए। खेलपछि स्काई स्पोर्ट्ससँग कुरा गर्दै पछिल्ला नतिजाहरु उत्कृष्ट नभएपनि अब आउने समयमा बलियो प्रदर्शन गर्ने बताए।
लुकाकुका अनुसार चेल्सी अब शिकारी भएको छ। एस्टन भिल्ला माथि जित निकालेपछि सबै खेललाई सहज रुपमा नलिएर राम्रो प्रदर्शन गर्ने लुकाकुको भनाई छ।
“हामी शिकारी हौं। हाम्रा लागि पछिल्ला नतिजाहरु उत्कृष्ट थिएनन्, तर अब हामीले डटेर लड्नुपर्नेछ। अबदेखि सिजनको अन्त्यसम्म हाम्रा लागि प्रत्येक खेल फाइनल हो। सबै खेललाई फाइनल जसरी खेल्नेछौँ। प्रिमियर लिग कठिन छ। तैपनि हामी अगाडी बढ्ने छौँ।”,लुकाकुले भने।
प्रिमियर लिगमा चेल्सीको अवस्था
सिजनको शुरुवातमा चेल्सीले धेरै नै राम्रो प्रदर्शन गर्न सकेको थियो। कयौं खेलसम्म अपराजित रहँदै चेल्सीले लिगको शिर्ष स्थानमा बलियो पकड बनाएको थियो। तर पछिल्ला खेलहरुमा पनि चेल्सीले केहि कम्जोर प्रदर्शन गरेको थियो। जसकारण चेल्सी अहिले लिगको तेस्रो स्थानमा छ।
चेल्सीले सिजनका १९ खेल खेल्दा १२ जित निकालेको छ भने २ खेलमा हारेको छ। त्यस्तै ५ खेलमा बराबरी खेलेर चेल्सीले ४१ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको लिभरपुलको पनि ४१ अंक छ। शिर्ष स्थानको म्यानचेस्टर सिटीले भने ४७ अंक बनाएको छ।