नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएपछि राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन निषेधाज्ञा लगाउने निर्णय गरेको छ । ओमिक्रोन भेरियन्टसँग जोडिएका सङ्क्रमित विरामीको संख्या वृद्धि भएपछि सरकारले यस्तो निर्णय गरेको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
सरकारले सोमबारदेखि नै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो । पछिल्लो २४ घण्टामा दिल्लीका थप दुई सय ९० जना सङ्क्रमित भएको पुष्टि भएको छ । उक्त संख्या पछिल्लो ६ महिनायताकै सर्वाधिक भएको बताइएको छ ।
पछिल्लो २४ घण्टामा दिल्लीमा एकजनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको संख्या एक हजार एक सयभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजार नयाँ सङ्क्रमणका घटना देखिएको संघीय सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । हालसम्म भारतमा चार सयभन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरिअन्ट सङ्क्रमण पुष्टि भएका बताइएको छ ।