“युनाइटेडका खेलाडीहरुलाई किच-किच गर्न र हात उठाएर गुनासो गर्न मात्र आउँछ”

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी ग्यारी नेभिलले युनाइटेडका खेलाडीहरुको चर्को आलोचना गरेका छन्। सोमबार राति रेलिगेसन जोनमा रहेको न्यूक्यासलसँग जित निकाल्न नसकेपछि ग्यारी नेभिलले युनाइटेडका खेलाडीहरुको चर्को आलोचना गरेका हुन्।

फुटबल छाडेपछि फुटबल विश्लेषकको रुपमा रहेका नेभिलले युनाइटेडका खेलाडीहरुले जित्ने क्षमता नै गुमाएको टिप्पणी गरे। युनाइटेडका खेलाडीले खेलका आधारभूत कुराहरू समेत गर्न नसकेको देखेर आफूलाई अचम्म लागेको नेभिलले बताए।

“प्रेसिङ छैन, अत्यावश्यकता छैन, केहि गरौँ भन्ने छैन। खेलका आधारभूत कुराहरू समेत उनीहरुमा देखिएन। उनीहरुले हरेक एकल लडाई हारे। त्यो वास्तवमै खराब प्रदर्शन थियो।”,स्काई स्पोर्ट्समा आफ्नो धारणा राख्दै नेभिलले भने।

त्यस्तै नेभिलले युनाइटेडका खेलाडीहरु किच-किच गर्न र गुनासो गर्न मात्र जान्ने पनि बताए। युनाइटेडका खेलाडीहरुका कारण प्रशिक्षकहरु बर्खास्त हुने गरेको नेभिलको भनाई छ।

उनले भने,”उनीहरु पिचमा हुँदा हेर्नुस्। हात उठाएर गुनासो गरिरहेको मात्र देखिन्छन्। यी खेलाडीहरुकै कारण पछिल्ला प्रशिक्षक बर्खास्त भएका थिए। अब पनि यिनीहरुले अहिलेका प्रशिक्षकलाई बर्स्खास्त गराउन सक्छन्।”

नेभिलले युनाइटेडको प्रदर्शनलाई प्रतिबिम्बित गर्दै शारीरिक स्तरमा युनाइटेडका खेलाडीहरु कम्जोर देखिएको पनि बताए। युनाइटेडका खेलाडीहरुले ज्यान दिएर खेल्न नसकेको नेभिलको आरोप छ।

युनाइटेडको बराबरी

गएराति भएको खेलमा युनाइटेड न्यूक्यासलसँग बराबरीमा रोकिएको थियो। खेलको सातौँ मिनेटमै पछि परेको युनाइटेडलाई न्यूक्यासल विरुद्ध धेरै नै हम्मे-हम्मे परेको थियो। तर इडिन्सन काभानीले खेलको ७१ औं मिनेटमा गोल गर्दै युनाइटेडको उद्धार गरे।

न्यूक्यासलसँग बराबरी खेलेसँगै शिर्ष चारमा पर्ने युनाइटेडको योजना असफल भएको छ। १७ खेलमा ८ जित र ५ हर सहित २८ अंक बनाएर युनाइटेड सातौं स्थानमा सिमित भएको छ।

प्रकाशित : मङ्गलबार, पुष १३, २०७८१०:५६

“मेस्सी एलियन हुन्, त्यहि भएर रोनाल्डो मानव खेलाडीमा सर्वश्रेष्ठ भन्दा फरक पर्दैन”: पिके