एजेन्सी – ब्राजिलियन फुटबलर फिलिपे काउटिन्हो बार्सिलोनाका लागि ठूलो समस्या बनिरहेका छन्। सन् २०१८ मा लिभरपुलबाट महँगो मूल्यमा बार्सिलोना पुगेका काउटिन्होले न त सधैं फिट भएर खेल्न सक्ने, न त फिट हुँदा सन्तोषजनक प्रदर्शन गर्न नै सके। एक हिसाबले भन्ने हो भने बार्सिलोनामा काउटिन्हो पूर्णरुपमा फ्लप भए भने बार्सिलोना पनि नराम्ररी डुब्यो।
काउटिन्होबाट बार्सिलोनाले छुटकारा पाउन खोजिरहेको छ। महँगो पारिश्रमिक लिने काउटिन्होबाट जसरी पनि छुटकारा पाउने बार्सिलोनाको चाहना छ। तर काउटिन्होले बार्सिलोना छाड्न मानिरहेका छैनन्। अन्य क्लबमा गएपनि आफ्नो पारिश्रमिक घटाउन उनी चाहिरहेका छैनन्। जसले गर्दा उनको अन्यत्र ट्रान्सफर हुन सकिरहेको छैन।
यसै बीच काउटिन्होलाई लिएर क्याटलान पत्रिकाहरुले कडा टिप्पणी गर्न थालेका छन्। काउटिन्होले बार्सिलोना छाड्ने नमानेपछि क्याटलान पत्रिकाहरु उनको आलोचनामा उत्रिएका हुन्।
क्याटलान अखबार स्पोर्टले एकपटक फेरी काउटिन्होलाई निशाना बनाएको छ। उसले काउटिन्होमा गरिएको खर्चमा शौचालयमा खन्याएको पानी जस्तै भएको टिप्पणी गरेको छ।
उक्त अखबारले उल्लेख गरेको छ कि बार्सिलोना काउटिन्होको महँगो पारिश्रमिक तिर्न सक्ने क्लब खोजिरहेको छ। तर काउटिन्होको पारिश्रमिक तिर्न तयार हुने कुनै पनि क्लब फेला पर्न सम्भव नै नभएको पनि उक्त अखबारले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
‘स्पोर्ट’का अनुसार काउटिन्हो अहिले ३ लाख ८० हजार पाउण्ड पारिश्रमिक पाउँदै आएका छन्। काउटिन्हो जस्ता खेलाडीका लागि त्यो धेरै नै हो। काउटिन्हो जस्तो खेलाडीका लागि यति धेरै पारिश्रमिक दिने निर्णय गरेर बार्सिलोना फसेको उक्त पत्रिकाको दावी छ।

