रोनाल्डो बार्सिलोना जान मरिहत्ते गरिरहेको खुलासा, पिकेलाई सम्पर्क गरेको दावी !

सांकेतिक तस्विर

एजेन्सी – पोर्चुगिज स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले बार्सिलोना जाने प्रयास गरिरहेको खुलासा भएको छ। बेलायती पत्रिका ‘द सन’ले रोनाल्डो बार्सिलोना जाने प्रयासमा रहेको खुलासा गरेको हो। विभिन्न श्रोतहरुको हवाला दिँदै सो पत्रिकाले दावी गरेको छ कि रोनाल्डो बार्सिलोना जानको लागि विभिन्न प्रयासहरु गरिरहेका छन्।

द सनका अनुसार रोनाल्डोले बार्सिलोनाका सेन्टरब्याक जेरार्ड पिकेलाई सम्पर्क गरेका छन्। पिकेलाई सम्पर्क गरेर बार्सिलोनाका प्रशिक्षक जाभीसँग कुरा गराउन आग्रह गरेको द सनको दावी छ।

“पोर्चुगिज सुपरस्टारले बार्सिलोनाका सेन्टरब्याक जेरार्ड पिकेलाई सम्पर्क गरी नाउ क्याम्पका प्रशिक्षक जाभीसँग कुरा गर्न आग्रह गरेको बताइएको छ।”,उक्त पत्रिकाले आफ्नो अनलाइन संस्करणमा लेखेको छ।

त्यस्तै स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले पनि रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले बार्सिलोनाका अध्यक्ष जोन लापोर्टासँग कुराकानी गरिरहेको दावी गरेको छ। मेन्डेस र लापोर्टा बीच धेरै राम्रो सम्बन्ध रहेको छ। जसकारण दुई बीच रोनाल्डोलाई बार्सिलोनामा ल्याण्ड गराउन सकिने सम्भावनाका बारेमा छलफल भइसकेको डिपोर्टिभोको दावी छ।

युनाइटेडमा असन्तुष्ट रोनाल्डो

यसै सिजन युभेन्टसबाट म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डो त्यहाँ सन्तुष्ट हुन सकिरहेका छैनन्। केहि न केहि उपाधि जित्ने लक्ष्य बोकेर हिँडेका रोनाल्डोले युनाइटेडमा राम्रो भविष्य नदेखेको बताइन्छ। साथै रोनाल्डो युनाइटेडका नवनियुक्त प्रशिक्षक राल्फ रङ्गनिकका कारण पनि असन्तुष्ट रहेको हल्ला छ।

स्ट्राइकरको खोजिमा बार्सिलोना

लियोनेल मेस्सीले क्लब छाडेपछि क्लबमा उनको अभाव खड्किएको छ। अन्य क्षेत्रमा बलियो रहेपनि गोल गर्न नसक्दा बार्सिलोना पछि परिरहेको छ। यस्तोमा बार्सिलोनालाई एक भरपर्दो स्ट्राइकरको आवश्यकता छ।

प्रकाशित : मङ्गलबार, पुष १३, २०७८२१:३८

पेनाल्टीमा चुके सलाह, सिटीले ६ गोल हानेको लेस्टरसँग लिभरपुल पराजित !