भिनिसियस भन्छन् – ‘सन् २०२२ रियलको वर्ष हुनेछ’

एजेन्सी – रियल म्याड्रिडका युवा खेलाडी भिनिसियस जुनियरले सन् २०२२ रियलका लागि धेरै नै राम्रो वर्ष हुने बताएका छन्। हाल छुट्टीमा रहेका भिनिसियसले एक प्रशंसकसँग कुराकानी गर्नेक्रममा सन् २०२२ रियलको वर्ष हुने बताएका हुन्।

अमेरिका स्थित मियामीको ओशन ड्राइभ नजिकै केही साथीहरूसँग टहलिरहेका बेला ब्राजिलियन विङ्गरसँग म्यानचेस्टर सिटीको जर्सीमा रहेका एक व्यक्तिले तस्विरका लागि आग्रह गरेका थिए। सो क्रममा भिनिसियसले सन् २०२२ रियलको वर्ष हुने बताए। तस्विर खिच्ने समयमा भिनिसियसले भने,”सन् २०२२ रियलको वर्ष हुनेछ।”

सामाजिक संजालमा यति बेला भिनिसियसले ती प्रशंसकसँग गरेको कुराकानी भाइरल भैरहेको छ। धेरैले भिनिसियसको उक्त भनाईलाई लिएर विभिन्न अर्थ लगाइरहेका छन्। लालिगामा उत्कृष्ट प्रदर्शन गरिरहेका उनको उक्त भनाईलाई महत्वपूर्ण मान्न सकिन्छ।

भिनिसियसको लय

गएका सिजनहरुमा ठीक-ठाक प्रदर्शन गरेपनि नयाँ सिजन शुरु हुँदा भिनिसियसमा अचम्म लाग्दो सुधार देखिएको छ। रियल लालिगाको शिर्षस्थानमा पकड बनाएर बस्दा भिनिसियसको महत्वपूर्ण भूमिका रह्यो।

लालिगामा १९ खेल खेल्दा उनले १० गोल गरिसकेका छन् भने ४ असिस्ट दिएका छन्। त्यस्तै च्याम्पियन्स लिगका ६ खेलमा २ गोल र ३ असिस्ट दिएका थिए।

प्रकाशित : बुधबार, पुष १४, २०७८१४:२१

“मेरो ध्यान रियल म्याड्रिड जानेमा छैन, रियल म्याड्रिडको ब्याण्ड बजाएर च्याम्पियन्स लिग जित्नेमा छ”