लामो समयदेखि स्पेनिस क्लब रियल म्याड्रिडसँग लगातार नाम जोडिदै आएका एम्बाप्पेले अहिलेको समयमा आफ्नो ध्यान अर्को सिजन आफू कहाँ हुन्छु भन्दा पनि फेब्रुअरीमा रियल म्याड्रिडलाई पराजित गर्ने र फाइनल लक्ष्य भने च्याम्पियन्स लिग जित्नु रहेको पनि बताएका छन्।
पेरिस सेन्ट-जर्मेन (पीएसजी) मा उनको सम्झौता सिजनको अन्त्यमा समाप्त हुनेछ। जसपछि उनी स्पेनिस क्लब रियल म्याड्रिडसँग फ्री-ट्रान्सफरमा आवद्ध हुने धेरैले आंकलन गरेका छन्। तर एम्बाप्पेको दिमागमा भने अहिले त्यसबारे केहि पनि नरहेको उनले बताएका छन्। उनी पूर्ण रूपमा आफू पीएसजीसँग च्याम्पियन्स लिग जित्न समर्पित रहेको बताउँछन्।
सीएनएनसँगको अन्तर्वार्तामा रियल म्याड्रिडमा आफ्नो सम्भावित ट्रान्सफर बारे प्रश्न गर्दा एम्बाप्पेले भने, “अहिले त्यसको समय हैन। म पीएसजीमा सिजन पूरा गर्नेछु।” “हामी तयार हुनुपर्छ, यो समय हो,” एमबाप्पेले च्याम्पियन्स लिगको पुन: सुरु हुने बारेमा भने।
“यो सिजनको सबैभन्दा महत्त्वपूर्ण भाग हो। अवश्य पनि, हामी अगाडी बढ्न चाहन्छौं। हामीले फाइनल र सेमिफाइनल खेलेको दुई वर्ष भइसक्यो, तर अब हामी जित्न चाहन्छौं। हामीसँग यो गर्ने टोली छ। यो क्लब, प्रशंसक र शहरको लागि साँच्चै महत्त्वपूर्ण छ,” एम्बाप्पेले भने, “यो [२०२२/२३ मा रियल म्याड्रिडबाट खेल्ने] बारे कुरा गर्ने क्षण होइन। मेरो दिमागमा फेब्रुअरी र मार्चमा रियल म्याड्रिडलाई हराउने कुरा मात्रै छ।”

