एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी उपाधि दौडबाट बाहिरिने अवस्था उत्पन्न भएको छ। पछिल्ला पाँच खेलमा तेस्रो बराबरी खेलेसँगै चेल्सी प्रिमियर लिग उपाधि दौडबाट बाहिरिने अवस्थामा पुगेको हो।
बुधबार राति इन्ज्युरी समयमा सम्हालिन नसक्दा चेल्सी ब्राइटनसँग रोकिन पुग्यो। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी ब्राइटनसँग १-१ को बराबरीमा रोकियो। ब्राइटन विरुद्धको खेलमा चेल्सी धेरै समय पछि निरिह देखिएको थियो। सो खेलभर बलमा समेत चेल्सीको पकड रहेन। बलमा ब्राइटनको ५३ प्रतिशत पकड थियो।
खेर गयो लुकाकुको गोल
खेलको २८औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। उनले मासन माउन्टको पासलाई हेडमार्फतत गोल गरेका थिए। त्यसपछि ९० मिनेट सम्म दुवै टोलीबाट गोल भएन। तर ९० मिनेट पछि थप गरिएको पहिलो मिनेटमै ब्राइटनले गोल फर्कायो। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ड्यानी वेलवेकले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाएका थिए।
यस बराबरीसँगै चेल्सीले मात्र १ अंक पाएको छ। चेल्सी २० खेलबाट ४२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। चेल्सीले अहिले सम्म १२ जित निकाल्दा २ हार बेहोरेको छ। त्यति ६ खेलमा भने बराबरी खेलेको छ। प्रिमियर लिगको शिर्ष स्थानमा अहिले म्यानचेस्टर सिटी छ। सिटीले २० खेलमा १६ जित निकाल्दा मात्र २ हार बेहोरेको छ। सिटीको ५० अंक छ।