ओमिक्रोनले विश्वमा कोरोनाको आँधी ल्याउने खतरा, डब्ल्यूएचओले दियो चेतावनी !

कोभिड-१९ को ओमिक्रोन र डेल्टा भेरियन्टले कोरोना संक्रमणको तुफानलाई निम्त्याउन सकिने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले बुधबार कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमणको सुनामी ल्याउन सक्ने चेतावनी दिँदै सबैलाई सतर्क र पूर्व-तयारी अपनाउनका लागि आग्रह गरेका छन्। उनले कोभिड संक्रमणको सुनामीले स्वास्थ्य प्रणालीमा अत्यधिक चाप पार्ने बताए।

बुधबार एक अनलाइन पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “ओमिक्रोन डेल्टाभन्दा धेरै गुना संक्रामक भएको र यी दुई भेरियन्ट सँगसँगै फैलिइरहेको कारण संक्रमणको सुनामी सिर्जना हुँदै छ र यस्तो अवस्था देखेर म निकै चिन्तित भएको छु।”

प्रारम्भिक तथ्यका अनुसार भने कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण सामान्य रहेको बताएको छ। तर प्रारम्भिक तथ्यलाई हेरेर ढुक्क भएर बस्ने हो भने ठूलो नोक्सान हुने चेतवानी दिँदै गेब्रेयससले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। सबैभन्दा पहिले दक्षिण अफ्रिकामा देखा परेको ओमिक्रोन भेरियन्ट हाल विश्वका सयभन्दा बढी देशहरुमा फैलिइसकेको छ। विशेषगरी पछिल्लो समय अमेरिका र युरोपमा यो भेरियन्ट नै सक्रिय बनेको छ।

प्रकाशित : बिहिबार, पुष १५, २०७८११:३७

लगातारको वर्षापछि कहिले आउँछ त मौसममा सुधार ? यसो भन्छन् मौसमविद् !