डिपेलाई लखेट्ने बार्सिलोनाको तयारी, उनको ठाउँमा मोराटालाई ल्याइने !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस स्ट्राइकर अल्भारो मोराटाका प्रतिनिधिहरुलाई सम्पर्क गरेको छ। एट्लेटिको म्याड्रिडबाट लोनमा युभेन्टस पुगेका मोराटालाई भित्र्याउने तयारी सहित बार्सिलोनाले उनका प्रतिनिधिहरुलाई सम्पर्क गरेको हो।

चर्चित खेल मिडिया गोलले सो सम्बन्धमा एक रिपोर्ट नै सार्वजनिक गरेको छ। गोलले गरेको दावी अनुसार बार्सिलोनाका प्रशिक्षक जाभीले मोराटा बारे चासो राखेपछि बार्सिलोनाका अधिकारीहरुले मोराटाका प्रतिनिधिहरुसँग सम्पर्क गरेका हुन्।

मोराटाको युभेन्टसमा ६ महिनाका लागि लोन सझौता बाँकी छ। उक्त लोन सम्झौता बार्सिलोना आफ्नो क्लबमा सार्न चाहन्छ। यसको लागि बार्सिलोनाले तयारी गरिसकेको बताइन्छ।

युभेन्टसमा डिपे पठाउने प्रयास

यसै सिजन फ्रेन्च क्लब लियोनबाट बार्सिलोना आएका डच फरवार्ड मेम्फिस डिपेले सोचे जस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्। जसकारण बार्सिलोनाले उनीबाट छुटकारा पाउन खोजिरहेको छ। सम्भव भए उनलाई युभेन्टस पठाउने बार्सिलोनाको तयारी छ। डिपेलाई युभेन्टस पठाएर मोराटालाई क्लबमा ल्याउने बार्सिलोनाको चाहना रहेको गोलको दावी छ।

मोराटालाई नराख्ने पक्षमा युभेन्टस

मोराटा यस सिजनको अन्त्य सम्मका लागि एट्लेटिकोबाट युभेन्टस पुगेका हुन्। मोराटालाई ३५ मिलियन युरोमा किन्ने अधिकार युभेन्टससँग छ। तर पनि युभेन्टसले मोराटालाई किन्ने योजना बनाएको छैन। यस विषयमा युभेन्टस स्पष्ट भैसकेको बताइन्छ। यस्तोमा मोराटालाई लोन सम्झौता बाँकी हुँदै स्पेनमा फिर्ता ल्याउने बार्सिलोनाको चाहना छ।

प्रकाशित : बिहिबार, पुष १५, २०७८२१:३८

रोनाल्डो चम्किदा युनाइटेडको जित !