एजेन्सी – समाजमा राम्रो उदाहरणका रुपमा प्रस्तुत हुन सहयोग हुने भन्दै चीनमा राष्ट्रिय टोलीका खेलाडीलाई ट्याटु नहान्न निर्देशन दिइएको छ ।
चीनको सर्वोच्च खेलकुद निकाय जीएएसले राष्ट्रिय टोली र उमेर समूहमा खेल्ने खेलाडीले ट्याटु हान्न प्रतिबन्ध लगाउने निर्णय लिएको हो । हाल ट्याटु कुँदेका खेलाडीले पनि अब त्यो छोप्नुपर्ने भएको छ । चीनका स्टार डिफेन्डर झाङ लिङपेङलाई यसअघि नै ट्याटु छोप्न निर्देशन दिइएको थियो ।
चीनले सन् २०१८ यता नै खेलका दौरान ट्याटु नदेखाउन प्रसारण गर्ने संस्थाहरुलाई निर्देशन दिएको थियो । त्यसयता व्यावसायिक फुटबल खेलाडीले जर्सीले नै ट्याटु छोप्दै आएका थिए । तर अब जीएएसले ट्याटुमा नै प्रतिबन्ध लगाउँदै भएकाले पनि हटाउनुपर्ने नियम ल्याएको छ ।
‘विशेष कारणले गर्दा खेलाडीले ट्याटु छोप्नुपर्छ । प्रशिक्षण र खेलका दौरान टोलीका टोलीका सबैले ट्याटु देखाउन पाउनेछैनन्,’ विज्ञप्तिमा उल्लेख छ ।
चीनमा ट्याटुले संस्कृतिमा विकृति ल्याउने मान्यता रहेको छ । पूर्वी एसियामा अझैपनि ट्याटुलाई अपराधसँग जोडेर हेरिन्छ । चिनियाँ समाजमा ट्याटु खोप्नुलाई असभ्य मानिन्छ । चीनको सत्तासीन कम्युनिस्ट पार्टीले ट्याटुलाई मान्यता नदिएपनि युवा पुस्तामाझ भने लोकप्रिय रहेको छ ।
चीनमा गत वर्ष ट्याटु कुँदेका र लामो कपाल पालेका पुरुष खेलाडीलाई टेलिभिजनमा नदेखाउन निर्देशन जारी गरिएको थियो । त्यस्तै गत डिसेम्बरमा विश्वविधालय स्तरको महिला फुटबल खेलमा खेलाडीले कपालमा रंग हालेको थाहा पाएपछि खेल रद्द गरिएको थियो ।
राष्ट्रिय युवा क्याम्पस लिगले विज्ञप्ति जारी गर्दै खेलाडीले ट्याटु कुँदेको, कपालमा रंग हालेको, फरक कपाल बनाएको वा कुनैपनि सामग्री प्रयोग गरेको खण्डमा अयोग्य घोषणा गरिने जनाएको थियो ।