विश्वकप २०२२ र नयाँ २०२२/२३ सिजन अघि, एर्लिङ हालाण्ड उनको हालको क्लब बोरुसिया डर्टमुन्डबाट सरुवा भएनन् भने त्यो सबैभन्दा ठूलो आश्चर्यको कुरा हुनसक्छ।

बुन्डेसलिगा दिग्गजहरूका लागि हस्ताक्षर गरेदेखिको उनको स्कोरिंग रेकर्डले उनलाई पेरिस सेन्ट-जर्मेन स्टार, किलियन एमबाप्पेसँगै युरोपेली र विश्व फुटबल कै सर्वश्रेष्ठ युवा स्टार मध्ये एक बनाएको छ। आउँदो समयमा हालाण्डको रिलिज फी ७५ मिलियनमा झर्ने भएकोले पनि पूर्व साल्सबर्ग स्टारको हस्ताक्षरका लागि ठूला क्लबहरु बीच लडाई हुने देखिन्छ।

नर्वेजियन स्टारका लागि आउँदो समयमा म्यानचेस्टर क्लब दुई, बार्सिलोना, बार्यन म्युनिख, रियल म्याड्रिड जस्ता ठूला क्लब बीच निकै प्रतिस्पर्धा हुने पक्का रहेको छ। क्याटालान क्लब बार्सिलोनाको आर्थिक समस्याहरूलाई ध्यानमा राख्दै उनीहरुको चासो साँचो जस्तो नदेखिन सक्छ, तर बार्सिलोनाका साथ एक चीज रहेको छ जसले हालाण्ड अनुबन्ध गर्ने दौडमा क्लबलाई अन्य क्लब भन्दा अगाडी राख्न सक्छ।

यो विश्वास गरिन्छ कि बार्सिलोना अध्यक्ष जोन लापोर्टाले लामो समयदेखि हालाण्डका एजेन्ट मिनो राइओलासँग सौहार्दपूर्ण सम्बन्ध राखेका छन्। के अन्य धेरै क्लबका अध्यक्षहरूको बारेमा पनि यस्तै भन्न सकिन्छ ? यसबाहेक, जब बार्साले अगस्टमा लियो मेस्सीको सम्झौता नविकरण नगरेर फुटबल जगतलाई चकित पारेको थियो, थोरैले साँच्चै बुझेका थिए कि लापोर्टाले वास्तवमा लामो खेल खेलिरहेको पनि हुनसक्छ।

यदि अर्जेन्टिनी स्टार खेलाडी अझै पनि बार्सिलोनामा भएको भए, क्याटालान्सहरूले हालाण्डलाई किन्न सक्ने सम्भावना १ प्रतिशत पनि हुने थिएन। मेस्सीलाई बिदाई गर्नुको अर्थ हालाण्ड अनुबन्ध गर्न रकम उपलब्ध गराउनु पनि हुनसक्छ। Wettfreunde सँग कुरा गर्दा जियानलुका डी मार्जियोका अनुसार हालाण्डले आफ्नो सम्भावित गन्तव्यको रूपमा ला लिगालाई प्राथमिकता दिनेछन्।

एमबाप्पेले रियल म्याड्रिडमा अनुबन्ध गर्ने अपेक्षा गरिएको हुँदा हालाण्ड रियल म्याड्रिड भन्दा बार्सिलोना जानु विश्व फुटबललाई नै फाइदा हुने देखिन्छ। फुटबल प्रशंसकले हालाण्ड भर्सेस एम्बाप्पेको रूपमा मेस्सी-रोनाल्डो प्रतिद्वन्दको नयाँ रुप पाउने आशा गरेका छन्।

