♦ ज्योतिषाचार्य दामोदरनाथ लोहनी
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मङ्गलबारसम्मका दिन राम्रा खालका छैनन् । गरेका काममा बाधा आउनुका साथै शरीरमा सानोतिनो चोटपटकसमेत लाग्नसक्छ । विशेषगरी मङ्गलबारको दिनमा ज्यादै होसियार भएर हिँड्नुहोस् । व्यापारसम्बन्धी काममा भने निकै परिश्रम पर्न जाला।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मध्यम खालको साता छ । कुनै पनि काम पूर्ण रूपमा बन्ने छैन । स्वास्थ्यसम्बन्धी समस्या आई नै रहलान् । सहयोग गर्ने मित्रको सङ्ख्यासमेत हाललाई कम छ । आफ्नो मात्र नभएर परिवारको स्वास्थ्यले समेत खर्च गराइरहला । व्यापारको कामबाट मात्र टेवा मिल्नेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
अलिअलि बाधा आए पनि त्यसलाई छिमल्न सक्ने शक्ति छ । यो सप्ताहमा विपक्षी पनि तपाईंको शरणमा पर्न सक्छन् । व्यापार, व्यवसायमा राम्रो उन्नति हुने बेला छ । आर्थिक स्थिति गतिलो खालको रहला । मित्र सहयोग भने हाललाई त्यति देखिन्न ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
शनिबारको दिनमा खर्च भए पनि आइतबारदेखि त्यसलाई उठाउन सक्नुहुनेछ । पढाइभन्दा व्यापारतिरको काममा बढी समय जाला तर त्यसबाट आशा गरेको जति फल प्राप्त हुने छैन । बगलामुखीको आराधनाले धेरै समस्या टार्न मद्दत मिल्नेछ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
शनिबारको दिनमा स्वास्थ्य समस्या देखिएला । यही समस्याले सञ्चित धनको खर्च हुन पनि सक्छ । शैक्षिक क्षेत्रमा निकै बढोत्तरी होला । त्यस्तै परिवार र मित्रले दिएको सल्लाहलाई उपेक्षा नगर्नुहोस् । यी सल्लाह र सहयोग गतिला खालका छन्।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
अलि अलि काम बने पनि सम्मान एवं प्रतिष्ठामा बढोत्तरी हुने समय छैन । सूर्यको आराधनाले मात्र सामुन्ने आएका समस्यालाई हल गर्न सक्नुहुनेछ तर साहसको मात्रा भने कत्ति पनि घटेको छैन । प्रतिष्ठित व्यक्तिसँग भेटघाट हुने समय छ ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
समय राम्रो छ । खर्चको मात्रा त घट्ने छैन तर गतिला काम बन्नाले मनमा प्रसन्नता नै होला । पढाइतिर पनि राम्रो हुनेछ । नोकरीबाट भन्दा हातले समातेका अरू व्यवसायले फाइदा देला । शनिबारको दिनमा कुनै वस्तु बिग्रन वा हराउन पनि सक्छ
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
साताको प्रारम्भ रमाइलोसित हुनेछ । मित्रसँग भेटघाट हुनुका साथै भोजभतेरको कार्यक्रमसमेत पर्ला । पैसाको सञ्चिति देखिन्न । स्वास्थ्यको स्थिति पनि मध्यम मात्र रहला । परिवारको सहयोगले मात्र काम बन्नेछन् । जागिरतिर राम्रा दिन आइरहेका छन्।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
मनमा अलिअलि डर लागिरहला । आर्थिक स्थिति पूरा राम्रो रहने छैन । आय नघटे पनि खर्चको मात्रा बढिरहनाले पैसाको सञ्चिति देखिन्न । सन्तानको शिक्षाका लागि नै बढी खर्च हुने सम्भावना छ । जागिरबाट विशेष उपलब्धि हुने आस नगर्नुहोस्।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
आय र व्यय बराबरै खालको देखिन्छ । प्राविधिक क्षमताबाट भएको आयलाई पारिवारिक समस्या टार्नका लागि खर्च गर्नु पर्नेछ । शिक्षातिर लगाएको श्रम खेर जाने छैन । जागिरको काममा भने बाधा दिने धेरै हुनेछन् । शनिश्चरको सेवा गरिरहनुहोस् ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
सातालाई राम्रै रूपमा लिन सकिन्छ । धेरै काम बन्नेछन् । बाधा दिनेहरू भए पनि हाल तिनीहरूको प्रभाव ज्यादै न्यून हुनेछ । तपाईंको वाणीमा ओज छ र यसैले धेरै काम गर्ला । स्वास्थ्यको स्थिति त्यति खराब देखिन्न तैपनि गणेशको दर्शन भने गरिरहनुहोस् ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
अलिअलि शङ्का र भय भए पनि यो सातामा निकै काम बन्नेछन् । परिवारमा भएको कचिङ्गल बिस्तारै घटेर जाला । व्यापारसम्बन्धी काममा विशेष संलग्नता हुनेछ र लाभसमेत हुने देखिन्छ । देवीको नित्य दर्शन गर्नाले धेरै समस्याबाट उन्मुक्ति पाउनुहुनेछ।