एमसीसीलाई बाजा बजाएर स्वागत गर्नुपर्छ भन्दै कुर्लिएपछि …

काठमाडौँ – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कृष्णबहादुर चुनाराले अमेरिकी सहयोग सम्झौता (एमसीसी) नेपालको हितमा रहेको भन्दै एमसीसीलाई बाजा बजाएर स्वागत गर्नुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले एमसीसीले नेपाली जनतालाई समृद्ध बनाउने भन्दै उनले एमसीसी पास भए अमेरिकी सेना आउँछ भनेर गलत प्रचार गर्नु नेपाललाई विकासबाट पछाडि धकेल्ने षड्यन्त्र भएको बताएका हुन् ।

उनले भने, ‘नेपालमा जंगलको बाघले खानुभन्दा पहिला मनको बाघले खाने प्रचलन रहेको छ ।’ अमेरिकी जनताले साम्राज्यवाद र सामन्तीको विरुद्ध लडेर लोकतन्त्र प्राप्त गरेको स्मरण गराउदै उनले अमेरिकालाई सामन्ती भन्नु गलत भएको टिप्पणी गरे ।

‘म अमेरिकामा बस्दा महसुस गरेको कुरा के हो भने दुई देशबीच धेरै ठुलो भिन्नता छ । अमेरिकी जनताले सामन्तवादको नाम समेत सुन्न चाहँदैनन्,’ उनले भने । अमेरिकाले नेपाली जनताको आर्थिक स्तर उन्नत बनाउनको लागि हाइड्रोमा सम्भावना देखेर सहयोग गर्न लागेको भन्दै उनले एमसीसीलाई बिथोल्ने काम कोहीबाट पनि हुन नहुने धारणा राखेका थिए ।

‘विद्युत् उत्पादन गरेर विदेशी राष्ट्रहरूलाई बेच्ने हो । भारतले अहिलेको अवस्थामा हामीले उत्पादन गरेको विद्युत् किन्न मान्दैन । तर, अमेरिकाले भनेपछि भारतले पनि किन्दिनँ भनेर भन्न सक्दैन । त्यसैले हामीले भारतलाई पनि बेच्न सक्छौँ,’ उनले भने ।

नेपालमा कतिपय राजनीतिक दलका नेताहरू सामाजिक अभियन्ताको नाममा केही फाइदा हुन्छ कि भनेर एमसीसीको विरोधमा लागेको उनको आरोप थियो । ‘अमेरिकी भिसा पाउन मरिहत्ते गर्ने अनि विकास हुँदा किन विरोध गर्ने ?,’ उनको प्रश्न थियो ।

प्रकाशित : शनिबार, पुष १७, २०७८१७:४३

यस्तो बन्यो माओवादीको २३६ सदस्यीय केन्द्रीय समिति !