मेस्सीको विषयमा बोल्दा फसे रोनाल्डिन्हो, बार्सिलोना नराम्ररी रिसायो !

एजेन्सी – क्याटलान क्लब बार्सिलोना रोनाल्डिन्होसँग रुष्ट भएको छ। अर्जेन्टिनी स्टार फुटबलर बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेको विषयमा रोनाल्डिन्होले गरेको टिप्पणीलाई लिएर बार्सिलोना रुष्ट भएको हो।

मिररका लागि तयार पारेको रिपोर्टमा कोलिन मिलरले रोनाल्डिन्होसँग बार्सिलोना रुष्ट भएको दावी गरेका छन्। मेस्सीले बार्सिलोना छाड्नुलाई सुखद आश्चर्यको रुपमा लिएका रोनाल्डिन्होसँग बार्सिलोना धेरै नै निराश बनेको मिलरको बुझाई छ।

लियोनेल मेस्सीले यसै सिजन बार्सिलोना छाडेका हुन्। लालिगाका विभिन्न नियमहरुका कारण बार्सिलोना बस्न सम्भव नभएपछि मेस्सी पिएसजी पुगेका थिए। डेढ दशक भन्दा लामो समय बिताएको क्लब छाडेर मेस्सी पिएसजी पुग्दा पूरा विश्व नै चकित परेको थियो। मेस्सी नहुँदा बार्सिलोना धेरै नै ठूलो समस्यामा परेको छ। मेस्सी जस्तो भरपर्दो खेलाडी नहुँदा बार्सिलोना च्याम्पियन्स लिगबाट समेत बाहिरिसकेको छ।

रोनाल्डिन्होले के भनेका थिए ?

केहि समय अगाडी मात्रै एक अन्तर्वार्ताका क्रममा रोनाल्डिन्होले मेस्सीलाई पिएसजीमा देख्दा धेरै नै खुशी लागेको बताएका थिए। पिएसजीमा समेत खेलिसकेका रोनाल्डिन्होले पिएसजी आफ्नो मनमा समेत रहेको बताएका थिए। मेस्सीको पिएसजी ट्रान्सफर आफ्नो लागि सुखद आश्चर्य रहेको रोनाल्डिन्होको भनाई थियो।

“मेरो हृदयमा महत्त्वपूर्ण स्थान ओगटेको क्लब पिएसजीमा मेस्सीलाई देख्दा म धेरै खुशी छु। मेस्सीको यहाँ ट्रान्सफर हुन्छ होला भनेर मैले कहिले पनि सोचेको थिइन। उनले बार्सिलोनामै करियरको अन्त्य गर्छन् भन्ने लागेको थियो। तर नसोचेको भयो। यो मेरा लागि सुखद आश्चर्य थियो।”,रोनाल्डिन्होले भनेका थिए।

प्रकाशित : आइतबार, पुष १८, २०७८१८:११

सन् २०२१: मेस्सीले बार्सिलोना समर्थकको मन टुक्रा-टुक्रा पारेको वर्ष !