एजेन्सी – सन् २०२२ को पहिलो खेलमा लालिगा लिडर रियल म्याड्रिड पराजित भएको छ। आइतबार राति भएको खेलमा रियल गेटाफेसँग १-० को गोल अन्तरले पराजित भयो। गेटाफेको घरेलु मैदानमा भएको खेलमा पराजित हुँदा रियलको १५ खेलको अपराजित यात्रामा पूर्णविराम लाग्यो। आइतबार बेहोरेको हार रियलले लालिगामा बेहोरेको दोस्रो हार हो।
गेटाफेको तर्फबाट एनेस उनालले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको नवौं मिनेटमै गोल गरेका थिए। एडर मिलिटाओले डिफेन्डिङमा गरेको गल्तिको फाइदा उठाउँदै उनले गोल सफल भएका हुन्। उनको गोल नै रियलको १५ खेलको अपराजित यात्रालाई अन्त्य गर्न काफी भयो।
पलमा राम्रो पकड बनाएपनि रियलको तर्फबाट कुनै गोल हुन सकेन। बलमा रियलको ७४ प्रतिशत पकड थियो। रियलको तर्फबाट कुल १४ प्रहार भए। जसमा ४ प्रहार टार्गेटमा थिए। त्यस्तै बलमा कम पकड भएपनि गेटाफेको तर्फबाट कुल ६ प्रहार भए। त्यसमा ३ प्रहार टार्गेटमा हुँदा १ प्रहारले गोल पोस्ट चुम्यो।
गेटाफे विरुद्धको खेलमा हार बेहोरेपनि रियल लालिगाको शिर्ष स्थानमा छ। रियलले २० खेलमा मात्रै २ हार बेहोरेको छ भने ४ खेलमा बराबरी खेलेको छ। रियलले यस बीचमा ४६ अंक बटुलेको छ। रियलको निकटतम प्रतिद्वन्दी सेभियाको ३८ अंक छ। सेभियाले रियल भन्दा २ कम खेल खेलेको छ।
त्यस्तै गेटाफेले भने लालिगाको १६ औँ स्थानमा छ। गेटाफे सिजनका १९ खेल खेल्दा मात्रै ४ जित निकालेको छ। बाँकी ९ खेलमा हार बेहोर्दा ६ खेलमा बराबरी खेलेको छ।