विवाहका नाममा १० वर्षीया छोरीलाई आफ्नै पिताले बिक्री गरिदिएपछि …

इलेना बेकाटोरोस/एपी – अनिकाल र यु-द्धका कारण विस्थापित सर्वसाधारणको बसोबास तथा माटो र इँटाले बनेका बाक्ला घरको बाहुल्य रहेको पश्चिम अफगानिस्तानको एक घना बस्तीमा एक महिला छोरीलाई बचाउन संघर्षरत छिन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

अजिज गुल नाम गरेकी ती महिलाका पतिले उनलाई थाहै नदिई १० वर्षीया छोरीलाई विवाहका नाममा बिक्री गरेका थिए। अरू ५ बालबालिकाको भरणपोषणका लागि उनका पतिले अग्रिम भुक्तानीमा ती छोरीलाई बेचेका थिए। छोरीलाई बेचेर भएको आम्दानीले अरू सदस्य भोकभोकै बस्नुनपर्ने उनका पतिको तर्क थियो। परिवारका अरू सदस्यलाई बचाउन एकजनाको बलिदान गर्नुपरेको धारणा उनको थियो।

गरिबीका कारण अफगानिस्तानका अरू कैयन असहाय अभिभावक यस प्रकारको निराशाजनक निर्णय लिन बाध्य छन्। तालिबान समूहले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि गत अगस्तमा अमेरिकी तथा नाटो सैनिक बाहिरिएका थिए। बाह्य अुनदानमा आश्रित अफगानिस्तानको अर्थतन्त्र विदेशी सैनिकको बहिर्गमनअगाबै कमजोर थियो। यसबीच तालिबानसँग सहकार्य गर्न अनिच्छुक विश्व समुदायले देशबाहिर रहेको उसको सम्पत्ति फ्रिज गरेको छ भने अन्य अनुदान पनि रोकेको छ।

२० वर्षअघि सत्तामा रहँदा तालिबानले गरेको ज्यादती फेरि दोहोरिन सक्ने आशंका विश्व समुदायलाई छ। चार दशक लामो यु-द्ध खेपेको यो देश चर्काे खडेरी तथा कोरोना भाइरस महमारीका कारण संकटमा छ। डाक्टरसहित अन्य सरकारी कर्मचारीले महिनौंदेखि मासिक तलब पाउन सकेका छैनन्। कुपोषण तथा गरिबीका कारण यहाँको ठूलो जनसंख्या जोखिममा छ। दातृ संस्थाका अनुसार अफगानिस्तानको आधा जनसंख्या गम्भीर खाद्य संकटमा छ।

‘दिनानुदिन यहाँको स्थिति बिग्रँदो छ, विशेषगरी बालबालिका यसबाट सबैभन्दा बढी प्रभावित छन्,’ अफगानिस्तानमा कार्यरत दातृ निकाय वल्र्ड भिजनका राष्ट्रिय निर्देशक असुन्था चार्ल्स भन्छिन्। उनको संस्थाले अफगानिस्तानको पश्चिमी सहर हेरातनजिकै विस्थापित सर्वसाधारणका लागि हेल्थ क्लिनिक सञ्चालन गर्दै आएको छ।

‘परिवारका अन्य सदस्यलाई बचाउन आफ्ना बालबालिका बेच्न बाध्य भएको देख्दा म अत्यन्त मर्माहत भएकी छु,’ उनले भनिन्। मानवतावादी विश्व समुदायले अफगान जनतालाई सहयोग गर्न आवश्यक रहेको उनको कथन थियो। अत्यन्त सानो उमेरमा किशोरीको विवाह गर्नु यो क्षेत्रको आम प्रचलन हो। टाढाको नाताका दुलाहाको परिवारले पैसा तिरेर यस प्रकारको सम्झौता गर्ने गर्छन् र सामान्यतया उमेर १५–१६ वर्ष नभएसम्म किशोरी माइतीमै बस्ने गर्छन्। तर आधारभूत खाद्यवस्तुको अभावमा दुलाहाले त्यसअघि नै किशोरी दुलहीलाई भित्र्याउन अनुमति पाउँछन्।

आर्थिक अवस्था सारै खस्किएपछि कतिपयले आफ्नै किशोर छोरालाई बेच्न चाहेको देखिन्छ। तर १० वर्षीय किशोरीकी आमा गुल आफ्नी छोरी बेच्न अनिच्छुक छिन् र उनले यसको प्रतिरोध गरेकी छिन्। १५ वर्षमै बिहे गरेकी गुलले छोरीलाई बलजफ्ती गरेमा आत्मह-त्या गर्ने चेतावनी दिएकी छिन्। उनले आफ्नी छोरी क्वान्डी गुललाई बेचिएको कुरा तुरुन्त थाहा पाएकी थिइन्।

पछिल्लो २ महिना परिवारले सहज रूपमा खाना खान पाएको थियो। जब उनले पैसा कहाँबाट आएको हो भनेर सोधिन्, उनका पतिले विवाहको बारेमा बताएका थिए। ‘त्यो सुन्दा मेरो मुटुको धड्कन रोकियो। म म-रेको भए हुन्थ्यो भन्ठानें तर मलाई मर्न नदिने भगवान्को इच्छा हो कि भन्ने ठानें,’ गुलले भनिन्। उनले त्यो घटना सम्झिँदा आफू मरेतुल्य हुने गरेको बताइन्। उनले यसो किन गरेको भनेर बारम्बार पतिलाई सोध्ने गरेकी छिन्।

‘एकजनाको बिक्रीले अरू बाँच्न सक्ने भनेर उस (पति) ले भन्ने गरेको छ’, उनी थप्छिन्। ‘तिमीले गरेको कामभन्दा त मृत्यु श्रेयस्कर हुने थियो,’ उनले पतिलाई भन्ने गरेकी छिन्। गुलले समुदायका अन्य सदस्यलाई आफूलाई थाहै नदिई छोरी बेचिएको बताइन्। समुदायका सदस्य उनको समर्थनमा उभिए र उनीहरूको सहयोगमा उनले किशोरी छोरीको सम्बन्ध विच्छेद गर्न सक्ने भइन्। तर छोरी बेचेबापत पतिले लिएको एक हजार अमेरिकी डलर तिर्न सकेमात्र उनले छोरीलाई बचाउन सक्ने भइन्।

उनीसँग यति ठूलो रकम छैन र उनका पति भागिसकेका छन्। सरकारी अधिकारीसमक्ष बेइज्जत हुने डरले उनका पति भागेको हुन सक्छ। तालिबान सरकारले महिला तथा किशोरीको बलजफ्ती विवाहमा बन्देज लगाएको छ। यसैगरी आपसी विवाद मिलाउन महिला तथा किशोरीलाई टोकनका रूपमा प्रयोग गर्न पनि नपाइने व्यवस्था छ।

प्रकाशित : सोमबार, पुष १९, २०७८०९:०६

सबै सांसद तिर्छन् पार्टीलाई चर्को लेबी, तर वामदेव भने कसैलाई तिर्दैनन् केहि !