काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते सार्वजनिक बिदा दिनुका साथै सरकारीस्तरबाटै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गराउन माग गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै सरकारले उक्त निर्णय नगरे राप्रपाले देशव्यापी विरोध आयोजना गर्ने चेतावनी दिनुभएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।
ज्ञापनपत्रमा भनिएको छ– ‘नेपालीलाई नाम र पहिचान दिने राष्ट्र निर्माताको सम्मानमा राज्यका तर्फबाट कुनै कमी हुन दिनु हुँदैन भन्ने राप्रपाको अविचलित मान्यता रहीआएको छ । राष्ट्र एकीकरणका नायकलाई कुनै पनि वाद, विवाद र सिद्धान्तभन्दा माथि राखेर उहाँको जन्म जयन्तीलाई राष्ट्रिय पर्वको रूपमा मनाउँदा कसैको आस्था र विश्वासमाथि चोट पुग्दैन ।’
पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउँदै आएको राप्रपाले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रूपमा मनाउन, उक्त दिन सार्वजनिक बिदा दिनुका साथै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्विर अंकित गर्न पनि माग गरेको छ ।
२०७४ सालमा प्रधानमन्त्री देउवाकै नेतृत्वको सरकारले सार्वजनिक बिदा दिने भनी गरेको निर्णय उपयुक्त रहेको र जनताले उक्त निर्णयको स्वागत गरेको भए तापनि त्यसले निरन्तरता पाउन नसकेको भन्दै अध्यक्ष लिङदेनले सार्वजनिक बिदा दिने पूर्ववर्ती निर्णय प्रधानमन्त्री देउवालाई पुनः स्मरण गराउनुभएको थियो ।

