अन्ततः गठबन्धनबीच मिल्यो भागबण्डा, एमालेलाई झड्का !

काठमाडौं । राष्ट्रियसभाको रिक्त पदका लागि हुने आगामी निर्वाचनका लागि सत्तारुढ गठबन्धनले भागबण्डा टुंग्याएको छ । राष्ट्रियसभाको रिक्त १९ सिटमा आगामी माघमा निर्वाचन हुँदैछ । सोही पदका लागि सोमबार सत्तारुढ गठबन्धनबीच तालमेल भएको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रियसभाको १९ सिटमा भागबण्डा गरेको हो । रिक्त हुन लागेको १९ सिटमध्ये नेपाली कांग्रेसलाई ६, नेकपा माओवादी केन्द्रलाई पाँच, नेकपा एकीकृत समाजवादीलाई पाँच, जसपालाई दुई र जसपालाई एक सिट छुट्याइएको छ ।

राष्ट्रियसभामा माओवादी केन्द्र र एकीकृत समाजवादीको चार÷चार तथा नेपाली कांग्रेसको तीन सिट रिक्त हुँदैछ । जुन पार्टीको जति सिट रिक्त हुने हो त्यो सँख्या बराबरको सिटी सोही पार्टीलाई छाडने सहमति बैठकमा भएको छ । त्यसदेखि वाहेक राष्ट्रियसभामा नेकपा एमालेको आठ सिट रिक्त हुँदैछ । त्यो आठ सिटमा भने गठबन्धनभित्र भागबण्डा गरिएको हो । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसदको पद रिक्त हुँदैछ ।

एमालेबाट आठ, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुँदैछन् । राष्ट्रपतिबाट मनोनीत हुने एक स्थानबाहेक १९ सिटका लागि आगामी माघ १२ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सातवटै प्रदेशमा चुनाव हुँदैछ ।

सत्ता गठबन्धन आबद्ध दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धन बनाएर चुनावमा ओर्लने तयारीमा छन् । काँग्रेसले बागमती र लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट एक÷एकजना राष्ट्रियसभा सांसद गुमाउँदैछ ।
यसैगरी एमालेले प्रदेश एकबाट तीन, लुम्बिनीबाट दुई तथा सुदूरपश्चिम, प्रदेश दुई र कर्णाली प्रदेशबाट एक÷एकजना सांसद गुमाउँदैछ । माओवादी केन्द्रले गण्डकीबाट २ तथा प्रदेश दुई र कर्णालीबाट एक÷एकजना सांसद गुमाउँदैछ । एकीकृत समाजवादीले बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिमबाट एक÷एकजना सांसद गुमाउँदैछ ।

प्रदेश १ बाट एमाले सांसद नैनकला ओझा, परशुराममेघी गुरुङ र अगमप्रसाद वान्तवा राईको पद रिक्त हुँदैछ । लुम्बिनीबाट एमालेका रामलखन चमार, कोमल वली र कांग्रेसका दृगनारायण पाण्डेको कार्यकाल सकिँदैछ । सुदूरपश्चिमबाट कांग्रेसकी तारादेवी भट्ट, एकीकृत समाजवादीका शेरबहादुर कुँवर र एमालेका चक्रप्रसाद स्नेहीको पदवाधि सकिँदैछ । यसैगरी बागमतीबाट काँग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ । गण्डकी प्रदेशबाट माओवादीका दीनानाथ शर्मा, खिमबहादुर विक र एकीकृत समाजवादी शान्ति अधिकारी जिसी विदा हुँदैछन् ।

प्रदेश दुईबाट माओवादीका शशिकला दाहाल र एमालेका सुमनराज प्याकुरेलको पदावधि सकिँदैछ । कर्णाली प्रदेशबाट एकीकृत समाजवादीका ठगेन्द्रप्रकाश पुरी, एमालेकी कविता बोगटी र माओवादीका जीवन बुढा विदा हुँदैछन् ।

यसैबीच, नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभाका लागि पाँच उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो । एकीकृत समाजवादीले प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा, र सुदूरपश्चिमबाट मदनकुमारी साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैगरी नेपाली कांग्रेसले पनि सोमबार नै आफ्ना उम्मेदबारको टुंगो लगाएको छ । पार्टीको केन्द्रीय समिति बैठकले प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायण मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैगरी नेकपा एमालेले भने राष्ट्रियसभा निर्वाचनमा १९ वटै पदमा आफ्ना उम्मेदबार उठाउने निर्णय गरेको छ । एमालेले प्रदेश १ बाट गुरु बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
एमालेले प्रदेश २ बाट असर्फी यादव, विना र साहलाई उम्मेदवार बनाएको छ । वागमती प्रदेशमा गोपाल शाक्य र निरकुमारी कुँवरलाई उम्मेदवार बनाएको छ । एमालेले गण्डकी प्रदेशमा अर्जुन कुमार सुनाम, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।

लुम्विनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता राष्ट्रियसभा सदस्यका उम्मेदवार बनेका छन् । एमालेले कर्णाली प्रदेशबाट पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मालाई उम्मेदवार बनाएको छ । सुदूरपश्चिम प्रदेशमा भने नरेश विक, सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाइएको छ ।

यसैबीच, नेकपा माओवादी केन्द्रले भने राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको छ । तत्काल पार्टीमा केन्द्रीय कमिटी बाहेक अर्को संयन्त्र नभएकाले अध्यक्षलाई नै उम्मेदवार चयनको जिम्मेवारी दिइएको बताइएको छ ।

अध्यक्ष प्रचण्डले सबैसँगको परामर्शपछि मंगलबारसम्म उम्मेदवारको टुंगो लगाउने बताइएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गराउने कार्यतालिका निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८०८:५३

वन अधिकृतको अवैध कमाइ झन्डै सात करोड, २२ वटा घरमा लगानी !