एजेन्सी – स्टार फरवार्डद्धय नेयमार र लियोनेल मेस्सीको अनुपस्थितिमा फ्रान्सेली स्टार केलियन एमबाप्पेको ह्याट्रिक मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कप डि फ्रान्समा सानदार जित निकाल्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ ।
साविकक विजेता पिएसजीले भान्नेसमाथि ४–० को सानदार जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । पिएसजीको जितमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा एक गोल प्रेसनेल किमपेम्वेले गरे ।
पहिलो हाफमा १–० को अग्रता लिएको पिएसजीका लागि एमबाप्पेले दोस्रो हाफमा १७ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गर्दै सानदार जित दिलाउन सफल भए ।
भान्नेसमा सोमबार राति भएको खेलको २८औं मिनेटमा प्रेसनेल किमपेम्वेले गोल गर्दै पिएसजीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । दोस्रो हाफको तीन गोल एमबाप्पेको नाममा रह्यो । ५९औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।
७१औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पिएसजीलाई सहज जिततर्फ अघि बढाए । ७६औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै पिएसजीलाई फराकिलो जित दिलाए ।