एजेन्सी – सलमान खान र शाहरुख खान लामो समय देखि बलिउडमा राज गर्दै छन्। लगभग सँग-सँगै अभिनय यात्रा शुरु गरेका यी दुईको उमेर पनि एकै छ। बलिउड करियरका शुरुवाती समयमा सलमान र शाहरुखले सँगै पनि काम गरेका थिए। सलमान र शाहरुख दुवैले काम गरेको चलचित्र ‘करण-अर्जुन’ अझै पनि आइकनिक बलिउड चलचित्रमा पर्छ। सलमान र शाहरुखले सो चलचित्रमा दाजुभाइको भूमिका निभाएका कारण धेरैले उनीहरुलाई वास्तविक दाजुभाइ सोच्थे।
सन् १९९५ मा आएको चलचित्र ‘करण-अर्जुन’ पछि सलमान र शाहरुख धेरै नै मिल्ने मित्रको रुपमा परिणत भएका थिए। त्यसपछि यी दुई केहि चलचित्रमा सँगै देखिए। तर सन् २००२ पछि यी दुईको मित्रता बिग्रिन थाल्यो। सलमान ऐश्वर्या रायसँग प्रेम सम्बन्धमा रहेको समय देखि नै यी दुईको मित्रतामा दरार आउन थालेको थियो।
के थियो घटना ?
भारतीय संचार माध्यमहरुका अनुसार चलचित्र ‘चलते चलते’को शुटिंगका दौरान शाहरुख र ऐश्वर्या बीच भनाभन भएको थियो। जसकारण ऐश्वर्याले चलचित्र नै छाडेकी थिइन्। पछि सो चलचित्रमा रानी मुखर्जीले काम गरिन्। ऐश्वर्या चलचित्र बाहिरिएपछि नै सलमान र शाहरुख तिक्तता बढेको थियो।
अनि झनै बिग्रियो सम्बन्ध …
पहिला देखि नै हल्का बिग्रिएको सलमान र शाहरुख बीचको मित्रतामा थप दरार त्यति बेला आयो जब सन् २००८ मा कटरीना कैफको जन्मदिनको पार्टीमा सलमानले शाहरुखलाई बोलाएर गाली गरे। कटरीना कैफको जन्मदिनमा सलमानले शाहरुखलाई गाली-गलौज गरेको र त्यसपछि यी दुईको बोलचाल नै बन्द भएको भारतीय संचार माध्यमहरु बताउँछन्। सो बेला यी दुई बीच हात-हालाहाल समेत भएको थियो।
सो घटना पछि यी दुई बीच कयौं वर्ष सम्म बोलचाल समेत भएन। तर सन् २०१३ मा बाबा सिद्दीकीको इफ्तार पार्टीमा यी दुईले झगडाको अन्त्य गरेका थिए।