एजेन्सी – स्पेनिस दुई ठूला क्लब रियल म्याड्रिड र बार्सिलोना दुवैको एकै टार्गेट छ – नर्वेली एर्लिङ हालाण्डलाई भित्र्याउने। दुवै क्लबलाई हालाण्ड चाहिएको छ। हालाण्डलाई भित्र्याउनको लागि दुवै क्लब तयारीमा जुटिसकेका छन्।
दुवै क्लबले हालाण्डका एजेन्ट देखि पिता सम्मलाई भेटिसकेका छन्। भन्ने नै हो भने एक हिसाबले यी दुई क्लब बीच हालाण्डलाई लिएर प्रतिष्पर्धा नै शुरु भएको छ। रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र जोआन लापोर्टा दुवैलाई हालाण्ड चाहिएको छ।
हालाण्डको चाहना
गएको केहि समय देखि हालाण्ड प्रिमियर लिग भन्दा पनि लालिगा जान चाहेको चर्चा चलिरहेको छ। यसको अर्थ उनी रियल र बार्सिलोना मध्ये एक क्लबमा जानेछन्। एजेन्ट मिनो राइओलाका अनुसार हालाण्ड एक ठूलो क्लबको केन्द्रमा हुन चाहन्छन्। आफू वरिपरी क्लबको परियोजना रहोस् भन्ने हालाण्डको चाहना छ।
एम्बाप्पे रियल गए हालाण्ड बार्सिलोना जाने
किलियन एम्बाप्पे भित्र्याउने रियलको चाहना नयाँ होइन। गएको केहि सिजन देखि रियलले लगातार एम्बाप्पेलाई भित्र्याउने तयारी गरिरहेको छ। गएको सिजन रियल एम्बाप्पेका लागि पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई २ सय मिलियन युरो सम्म तिर्न तयार भएको थियो।
रियल एम्बाप्पे सँग-सँगै हालाण्डलाई पनि भित्र्याउन चाहन्छ। तर हालाण्ड भने एम्बाप्पे भएको क्लबमा हुन नचाहेको बताइन्छ। यदि एम्बाप्पे रियल गएको खण्डमा उनी त्यहाँ हुन चाहने छैनन्। एम्बाप्पे रियल जाने हो भने हालाण्ड बार्सिलोना जान सक्नेछन्।