क्रिस्टियन एरिक्सनले युरो २०२० मा उनको भयानक पतन पछि देखाइएको समर्थनको लागि विश्वभरका फुटबल प्रशंसकहरूलाई धन्यवाद दिएका छन्। युरो २०२० को पहिलो खेलको सुरुवाती ७ मिनेटभित्र नै एरिक्सन हृदयघातका कारण मैदान मै ढलेका थिए। उक्त समयमा आफू ५ मिनेटको लागि म-रे-को उनी बताउँछन्।
फिनल्याण्ड विरुद्धको खेलमा एक्कासी मैदानमा ढलेपछि एरिक्सनका डेनमार्क टोलीका साथीहरू सबै तत्कालीन इन्टर मिलान मिडफिल्डरको वरिपरि उभिए जब उनको उपचार गरिएको थियो। यस्तोमा डेनिस स्टारकी विचलित पत्नी साब्रिना पिचमा आत्तिएर प्रवेश गर्दा साइमन केजेर र कास्पर स्माइकेलले सान्त्वना दिएका थिए।
भाग्यवश एरिक्सन होसमा आए र उनलाई तुरुन्त अस्पताल लगियो। जसपछि पुन: सुचारु भएको खेलमा फिनल्याण्ड १-० ले विजयी भयो। पूर्व टोटेनह्याम स्टारलाई विश्वभरबाट विभिन्न सन्देश आएको र त्यसले आफू निको हुन ठूलो भूमिका खेलेको पनि बताएका छन्। “यो अचम्मको थियो कि धेरै मानिसहरूले लेख्न वा फूलहरू पठाउन आवश्यक महसुस गरे,” उनले डेनिस प्रसारक डीआरलाई भने, “उक्त घटनाले धेरै मानिसहरूमा प्रभाव पारेको थियो, र उनीहरूले मलाई र मेरो परिवारलाई बताउन आवश्यक महसुस गरे। यसले मलाई धेरै खुसी बनायो। अस्पतालमा, मैले धेरै भन्दा धेरै फूलहरू र सकारात्मक सन्देश पाएको भनिरहेका थिए। यो अनौठो थियो, किनकि म पाँच मिनेटको लागि म-रे-को हुनाले मानिसहरूले फूलहरू पठाउने आशा गरेको थिएन।”
एरिक्सनले आफ्ना साथी, परिवार र स्वास्थ्यकर्मीलाई विशेष धन्याबाद दिँदै संसारभरीबाट आफूलाई सुस्वास्थ्य लाभको कामना गर्ने आफ्ना समर्थक प्रति आफू निकै आभारी रहेको पनि बताए।