काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन समूहसँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला समूहले दुई दिनयता आफ्नो सक्रियता बढाएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
मंगलबार अनुपम फुडल्यान्डमा समूहका अगुवाको भेला गरेको कोइराला समूहले बुधबार सिंहदरबार नजिकैको बसेरा होटलमा आफ्नो समूहबाट १४औँ महाधिवेशनमा उम्मेदवार बनेका नेताहरुसँग छलफल गर्यो । यी दुवै भेलामा छलफलको मुख्य विषय थियो, देउवाविरुद्ध रणनीति निर्माण गर्नु । यसलाई शेखर समूहले भने ‘महाधिवेशनको समीक्षा’ को ट्याग दिएको छ । छलफलमा शेखर समूहले अबको रणनीतिका विषयमा समेत छलफल गरेको थियो ।
यो समूहले अब ‘पार्टीमा भाग खोज्ने’ र ‘पेल्न खोजे प्रतिवाद गर्ने’ रणनीति बनाएको छ । यी दुवै पदावली शेखर समूहले प्रयोग नगरे पनि त्यसको भाव भने योभन्दा फरक छैन । आफ्नो प्रतिबद्धता विपरीत समूहको बैठक बोलाएर डा. कोइरालाले देउवाविरुद्धको रणनीति तय गरेको हो ।
१४औँ महाधिवेशनसँगै गुट सकिने बताएका डा. कोइरालाले समूहको बैठक बोलाएर आफ्नो गुट सक्रिय हुने सन्देश प्रवाह गरेका हुन् । सोही समूहबाट महामन्त्रीमा विजयी भएका गगनकुमार थापाले समेत महाधिवेशनपछि कुनै पनि विचार समूहले गुटको छुट्टै भेला गर्न नहुने बताएका थिए ।
यद्यपि महाधिवेशनपछि मत परिणाम आएको १५ दिन पनि नबित्दै शेखर समूहले गुटको अभ्यास थालेको हो । सभापतिका लागि भएको दोस्रो चरणको मतगणनामा देउवा दुई हजार ७३३ मत ल्याएर विजयी हुँदा कोइरालाले एक हजार आठ सय ५५ मत ल्याएका थिए । सभापति देउवाले नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै आफू वडादेखि केन्द्रसम्म नेपाली कांग्रेसमा आबद्ध सबैको सभापति भएको र सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
तर, यसमा देउवाको बोली र व्यवहार फरक परेको शेखर समूहको बुझाइ छ । विशेषगरी वरीयता, केन्द्रीय समितिमा मनोनयन, बागमती प्रदेशमा मन्त्री छनोट र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयनका विषयमा शेखर समूह संस्थापन समूहसँग रुष्ट बनेको हो । केन्द्रीय कार्यसमितिको पहिलो बैठकअघि सभापति देउवाले नेताहरुको वरीयता तोकेका थिए ।
त्यसमा सभापतिमा दोस्रो मत पाएका कोइरालालाई २०औं वरीयतामा राखेपछि उनीनिकट नेताहरु रुष्ट भएका थिए । यद्यपि शेखरले भने आफ्नो वरीयता पार्टी कार्यकर्ताले दिएको भोटबाटै कायम भएको प्रतिक्रिया दिएका थिए । बुधबार बसेको शेखर समूहको बैठकमा सहभागी नेपाल तरुणदलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीले वरीयताका विषयमा पनि आपत्ति जनाइएको बताए ।
उनले भने, ‘बैठकमा महाधिवेशनमा पराजय भएको विषयमा समीक्षा भयो । यसैगरी शेखरलाई तोकिएको वरीयताको विषयमा आपत्ति पनि जनाइएको छ । अहिलेको वरीयताले एक हजार नौ सय मतदातालाई निराश बनाउने काम भएको बैठकमा नेताहरुले बताउनु भएको छ ।’ सभापति देउवाले दुईपटक गरेर १३ जना केन्द्रीय सदस्य मनोनित गर्दा पनि रामचन्द्र पौडेलबाहेक सबै आफूलाई मत दिनेलाई मात्र मनोनित गरेको शेखर समूहको आरोप छ । कांग्रेस विधानले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएको छ । आफ्नो समूहका नेताहरुलाई मनोनित नगरेकोप्रति पनि शेखर समूहले आपत्ति जनाएको छ ।
शेखरले जारी गरेको चार बुँदे वक्तव्यमा नै निष्ठावान नेताहरुलाई मनोनित गरिएकोप्रति आपत्ति जनाइएको छ । ‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के ‘मापदण्ड’ अपनाएर उहाँहरु नियुक्त हुनुभएको होे हामी जान्न चाहन्छौँ,’ वक्तव्यमा भनिएको छ, ‘पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ । निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्तालाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनु पर्छ ।’