काठमाडौं । बागमती प्रदेशमा दूधको मूल्य बढाउने तयारी गरिएको छ । प्रदेश दुग्ध विकास बोर्डले किसानले पाउने गरी दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
बुधबार बसेको बोर्ड बैठकले मूल्य बढाउन सिफारिस गरेको बोर्डका निमित्त निर्देशक डा.रामप्रकाश प्रधानले बताए । खाद्यान्न र दानाको मूल्य बढेको र दूध उत्पादनमा लाग्ने लागतको तुलनामा किसानको खर्च नउठेपछि मूल्य बढाउन सिफारिस गरिएको प्रधानको दाबी छ । हाल प्रदेशमा प्रतिलिटर ४५ रुपैयाँमा गाई र ५५ रुपैयाँमा भैँसीको दूध किसानले बिक्री गरिरहेको उनले बताए ।
‘दूध उत्पादनमा चाहिने सबै कच्चा पदार्थको मूल्य बढ्यो तर किसानले पाउने मूल्य बढेन,’ निमित्त निर्देशक प्रधानले भने, ‘कृषि पेसाबाट किसान पलायन रोक्न पनि मूल्य बढाउन जरुरी छ ।’
प्रदेशमा तीन वर्ष देखि दूधको मूल्य नबढेको पनि उनले बताए । किसानका लागि बढाउने मूल्यले उपभोक्तामा थप असर नपर्ने गरी निर्णय गर्न संघीय मन्त्रालयलाई आग्रह गरिएको पनि उनले बताए ।

