लगातार बढ्दै कोरोना संक्रमण, स्मार्ट लकडाउनको तयारी !

काठमाडौँ – देशभर कोरोना भाइरसको संक्रमण डर बढ्न थालेपछि सरकारले उच्च सतर्कता अपनाउने भएको छ। कोरोनाको नयाँ भेरियेन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेपछि सरकारले उच्च सतर्कता अपनाउने भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिसकेका छन्। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन आवश्यक सतर्कता अपनाउन पर्नेमा जोड दिए।

संक्रमण बढन नदिन र संक्रमितहरुको परीक्षण तथा उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायहरुलाई देउवाको निर्देशन छ। देउवाले सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन समेत निर्देशन दिएको बताइएको छ।

शुक्रबार बसेको बैठकमा स्मार्ट लकडाउनको विषयमा समेत छलफल भएको जानकारी प्राप्त भएको छ। कोरोना संक्रमण बढ्दै गएको अवस्थामा स्मार्ट लकडाउन गर्ने सरकारको तयारी रहेको छ। भीडभाड हुने सिनेमा हल, विद्यालय, कलेज, होटेल लगायतका क्षेत्रहरु बन्द गर्ने तर्फ सरकारको ध्यान केन्द्रित भएको छ।

थप ९६८ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या बिहिबारभन्दा झण्डै दोब्बर हो । बिहिबार ५४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको नमूना परीक्षण गरिएको थियो । आठ हजार २७२ जनाले पीसीआर र छ हजार ६९९ले एन्टीजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २६२ कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार ७०९ पुगेको छ । निको हुनेदर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा हालसम्म आठ लाख ३१ हजार ५२ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा ९६ हजार ८४१ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख १० हजार १४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ५१ हजार ९३ पुगेको छ । कुलमा सङक्रमण दर १६ दशमलव नौ प्रतिशत छ ।

प्रकाशित : शुक्रबार, पुष २३, २०७८१९:४१

कोरोना सङ्क्रमणका बेला प्राधिकरणको कमाइ कति ?