काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यको निर्वाचनअघि नै हार स्वीकार गरेका छन् । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने भन्दै उनले पार्टीका उम्मेदवारलाई नआत्तिन आग्रहसमेत गरेका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
एमाले जिल्ला अधिवेशनको शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमद्वारा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सोचेअनुसारको परिणाम हासिल गर्न नसक्ने धारणा राखेका हुन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा सोचेजस्तो परिणाम आउन सक्दैन भन्दै उनले आत्तिन जरुरी नभएको बताए । संसदीय संघर्षको मैदानमा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्ता नै राष्ट्रिय सभाको निर्वाचन भएको उनको भनाइ थियो ।
निर्वाचन परिणाम एमालेका लागि अलि प्रतिकूल आउन सक्ने भन्दै उनले त्यो आजको जनमत र आजको यथार्थ नहुने बताए । ‘साढे चार वर्षअघि जनमत ल्याउँदा विभिन्न पक्षलाई सन्तुलन मिलाएर, विभिन्न प्रकारका व्यवस्थापनका नाममा त्यसलाई सम्बोधन गर्ने नाउँमा सिट बाँडेका थियौं ।
त्यो आजको जनमत र आजको यथार्थ हुँदै होइन,’ अध्यक्ष ओलीले भने । अहिले कम्युनिष्ट आन्दोलनलाई भित्रैबाट सखाप पार्न केही तत्व लागेको र पुरानो जनमतलाई समेटेर गठबन्धन बनाएको भरमा एमालेसँग उनीहरूले प्रतिस्पर्धा गरिरहेको उनले बताए ।
राष्ट्रिय सभाको निर्वाचनमा एमालेको पराजय निश्चित रहेको भए पनि उनले अझै एमाले बलियो नै भएको बताउँदै भने, ‘अहिले पनि हामी एक्लै अरू पार्टी भन्दा मजबुत छौं । हिजोको जनमत र हिजोको परिस्थिति दुरुपयोग गरेर प्रतिकूल परिणाम आउन सक्छ । तर, त्यो आजको जनमत, आजको यथार्थ होइन ।
यसमा हाम्रो सकारात्मक परिणाम आएन भनेर अनौठो मान्न कुनै आवश्यकता छैन ।’ अध्यक्ष ओलीले जो जति कमजोर छ, त्यसले नै उत्तिकै चर्को स्वरमा यो गठबन्धन चुनावसम्म जानुपर्छ भनेर कराइरहेको बताउँदै भने, ‘एमालेलाई गठबन्धन चाहिएको छैन । एक्लै चुनौती सामना गर्न सक्छ । देशका लागि खटेको, जनताका लागि काम गरेको विकासप्रेमी, शान्तिप्रेमी पार्टी हो । जनताको पार्टी हो, जनताबाट कसैले अलग गर्न सक्दैन ।’