म्यानचेस्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको दोस्रो स्पेल एक सिजन पछि समाप्त हुन सक्छ। रोनाल्डो गत समरमा इटालियन क्लब युभेन्टसबाट प्रिमियर लिग क्लब फर्किएका थिए।
तर यसै सिजनको बीच मै रोनाल्डो अब युनाइटेड छाड्ने मनाशयमा रहेका छन्। द सनका अनुसार, क्रिस्टियानोले एजेन्ट जर्ज मेन्डेसलाई “संकट वार्ता” गर्न बोलाएका छन्, जसको कारण मेन्डेस आफ्नो क्लायन्टसँग भेट्न म्यानचेस्टर उडेका छन्। ओले गुन्नार सोल्स्कजायरलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकको रूपमा राल्फ रङ्गनिकको नियुक्तिले क्लबमा अपेक्षित प्रभाव परेको छैन, र कथित रूपमा धेरै खेलाडीहरूलाई खुसी पनि रहेका छैनन्, जसमा क्रिस्टियानो पनि एक हुन्।
“क्रिस्टियानो युनाइटेडमा के भइरहेको छ भनेर धेरै चिन्तित छन्,” खेलाडीको नजिकको स्रोतले द सनलाई भन्यो, “टोलीको धेरै आलोचना भइरहेको छ र उनलाई थाहा छ कि उनी प्रमुख खेलाडी हुन्। धेरै समस्याहरू छन् र क्रिस्टियानो दबाब महसुस गर्दै छन् र यस्तो परिस्थितिबाट धेरै तनावमा छन्।”
रोनाल्डो रेड डेभिल्ससँग ठूला उपाधि जित्न आतुर भएपनि अहिलेको टोलीसँग उपाधि जित्न निकै कठिन रहेको रोनाल्डोले महशुस गरेका छन्। जसको कारण ५ पटकका ब्यालोन डी ओर विजेताका एजेन्ट रोनाल्डोसँग हालको परिस्थिति बारे बुझ, त्यसबारे छलफल गर्न र समाधान खोज्न इंग्ल्यान्ड आएको बताइएको छ। जसको कारण रोनाल्डोको भविष्य जे पनि हुनसक्ने अनुमान गरिएको छ। युनाइटेडका नम्बर ७ ले यस सिजन क्लबले गरेको २९ गोल मध्ये एकैले १४ गोल गर्न सफल भएका छन्।

