एक तथ्यांक आनुसार म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो यो सिजन युरोपेली फुटबलका शीर्ष स्ट्राइकरहरूमध्ये सबैभन्दा कम प्रेस गर्ने खेलाडी रहेका छन्।
युरोपका शीर्ष पाँच लिगहरूमा प्रत्येक फरवार्ड जसले कम्तिमा आठ गोल गरेका छन् र यस सिजनमा १० पूरा खेल खेलेका छन्, FBref मार्फत StatsBomb बाट डाटा प्रयोग गरेर उनीहरूले प्रति ९० मिनेट कति प्रेस गर्छन् भन्ने आधारमा एक सूची निकालिएको छ। उक्त सूचीमा खेलाडीहरूलाई उनीहरूको औसत ‘प्रेसिंग’, जसलाई ‘बल प्राप्त गर्ने, बल भएको वा बल पास गर्ने विपक्षी खेलाडीलाई प्रेस गर्ने’ भनेर परिभाषित गरिएको छ, को आधारमा क्रमवद्ध रूपमा स्थान दिइएको छ।
रोनाल्डो प्रति ९० मिनेटको औसत ६.४६ प्रेसिंगका साथ तालिकाको पुछारमा छन्। ३६ वर्षीय पोर्चुगिज स्टारले यस सिजन सबै प्रतियोगिताहरूमा १४ गोल गरिसकेका छन् तर प्रेसिंगको कमीको कारणले निकै आलोचित हुँदै आएका छन्। कतिपयले त उनलाई राल्फ रङ्गनिकको खेल शैलीको लागि अनुपयुक्त खेलाडीको रूपमा हेरेका छन्।
सूचीको शीर्ष स्थानमा वाटफोर्डका स्ट्राइकर इमानुएल डेनिस रहेका छन्। नाइजेरियन स्टारको नाममा प्रभावशाली औसत २०.८० प्रति ९० मिनेट प्रेस छ, जुन रोनाल्डोको भन्दा तीन गुणा बढी हो। सूचीमा दोस्रो स्थानमा लिभरपुलका फरवार्ड डिओगो जोटा २०.७० को औसतका साथ छन्, जबकि उनका क्लबमेट मोहम्मद सलाह र साडियो माने १३.८० को औसतको साथ र्याङ्किङको मध्यमा छन्।
Europe’s Top 5 Leagues fowards’ pressures per 90!📊
• Emmanuel Dennis & Jota – machines!
• The Salah-Mane-Jota definition of pressing as a unit!
• My man Vinicius tops almost every chart😭
• Cristiano & Mbappe have the least amount of pressure per90 than any other forwards! pic.twitter.com/0cMwB2JelY— Bhuvanesh Daran (@Bhuvanesh_Daran) January 11, 2022
यसैबीच, रियल म्याड्रिडका स्टार भिनिसियस जुनियर प्रति ९० मिनेट १९.६० को औसतका साथ सूचीको तेस्रो स्थानमा छन्। यद्यपि, अधिकांश युरोपेली फुटबलका सबैभन्दा उच्च मूल्याङ्कन गरिएका फरवार्डहरू र्याङ्किङको तल्लो स्थानमा छन्। पेरिस सेन्ट-जर्मेनका स्ट्राइकर किलियन एमबाप्पे मात्र ७.७४ को औसतका साथ पुछारबाट दोस्रो स्थानमा छन्, रोनाल्डोको भन्दा एक स्थान मात्र अगाडी।
यस सिजन बायर्न म्युनिखका लागि ३१ गोल गरिसकेका रोबर्ट लेवान्डोस्कीको औसत ८.७७ छ भने रियल म्याड्रिडका स्टार करिम बेन्जेमाको औसत ९.२३ छ।

