एजेन्सी – आफ्नो पूरा खेल जीवन म्यानचेस्टर युनाइटेडमा बिताएका पूर्व खेलाडी पाउल स्कोल्स मेसन ग्रीनवुडको समर्थनमा उत्रिएका छन्। एक युट्युब च्यानलसँग कुराकानी गर्नेक्रममा स्कोल्सले युनाइटेडको टोलीमा मेसन ग्रीनवुडले अहिले भन्दा बढी मौका पाउनुपर्ने बताएका हुन्।
क्रिस्टियानो रोनाल्डो र एडिन्सन काभानी भन्दा ग्रीनवुड बढी प्राथमिकतामा हुनुपर्ने स्कोल्सले बताए। ग्रीनवुड धेरै क्षमता भएको खेलाडी रहेको स्कोल्सको भनाई छ। त्यहि भएर उनी ग्रीनवुडलाई पर्याप्त अवसर दिइनुपर्ने पक्षमा छन्। ग्रीनवुडलाई प्रशिक्षकहरुले ‘बलिको बोका’ बनाइने गरेको पनि बताए।
“मेसन ग्रीनवुड एक शानदार खेलाडी हुन्। मैले उनीमा धेरै सम्भावना देखेको छु। तर सधैं प्रशिक्षकहरु उनलाई बाहिर राख्छन्। भन्ने हो भने एक हिसाबले ग्रीनवुडलाई ‘बलिको बोका’ बनाइएको छ।”,स्कोल्सले भने। युवा खेलाडी भएकै कारण ग्रीनवुडलाई कम मौका मिल्ने गरेको स्कोल्सले उल्लेख गरे।
“उनलाई नै टार्गेट गरिन्छ किनकि उनी कम उमेरका छन्।”,स्कोल्सले भने। उमेर ढल्किएका स्ट्राइकरहरूले ओल्ड ट्राफोर्डमा खेल्ने समय पाउनु युनाइटेडका लागि राम्रो संकेत नभएको स्कोल्सले बताए। उनले भने,”ग्रीनवुडले अहिले भन्दा बढी मौका पाउनुपर्ने हो। रोनाल्डो र काभानी अहिले सम्म उत्कृष्ट खेलाडी रहेपनि युवा खेलाडीहरुले मौका पाउनु पर्छ।”

