एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी जस्तै मोहम्मद सलाह पनि खेल्न सक्ने बताएका छन्। आर्सनलसँगको खेल अगाडी पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा क्लोपले सलाह पनि रोनाल्डो र मेस्सी जस्तै लामो समय सम्म खेल्न सक्ने खेलाडी रहेको बताएका हुन्।
सलाहले मेस्सी र रोनाल्डो जतिको स्तरमा खेल्न सक्लान् भनेर प्रश्न गरिँदा क्लोपले त्यसमा कुनै सन्देह नरहेको बताए। त्यसक्रममा सलाह आफ्नो शरीरलाई लिएर गम्भीर रहेको र त्यसले उनलाई लामो समय सम्म टिकाउने उनको विश्वास छ। क्लोपले सलाह जहिले पनि सुधार गर्न चाहने खेलाडी रहेको बताए।
“मलाई लाग्छ सलाहको चरित्र यहि हो। दृढ संकल्प सहित उनी अगाडी बढिरहेका छन्। उनको काम गर्ने मनोवृत्ति अविश्वसनीय छ। जे गर्दैछन् उनी धेरै राम्रो गर्दैछन्।”,क्लोपले भने,”उनलाई आफ्नो शरीर के कस्तो छ भन्ने राम्रोसँग थाहा छ। के गर्ने,के नगर्ने उनी राम्रोसँग बुझ्छन्। उनी विज्ञहरूका कुरा पनि सुनिरहेका हुन्छन्।”
क्लोपले सलाह मिहिनेत गर्न पछि नपर्ने खेलाडी रहेको दोहोर्याए। मिहिनेत गर्ने बानिकै कारण सलाह मेस्सी र रोनाल्डोको स्तरमा हुन सक्ने क्लोपको विश्वास छ। उनले भने,”अहिलेको परिस्थितिमा आइपुग्नको लागि उनले यति कडा मिहिनेत गरेका छन्। मलाई लाग्दैन अब उनले कम मिहिनेत गर्नेछन्।”
त्यस्तैक्रममा क्लोपले सलाहको भविष्य बारे धेरै चर्चा गर्न आवश्यक नरहेको पनि स्पष्ट पारे। सलाह लिभरपुलमै रहन चाहेको बारे आफूहरु जानकार रहेको क्लोपले बताए।

